हेल्थ टुडे
काठमाडौ : नेपालमा रहेका एचआईभी संक्रमित मध्ये ५३ प्रतिसत मात्र एआरभी उपचारमा आउन सकेका छन् । ४७ प्रतिसत संक्रमित अझै उपचारसम्म आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३१ हजार २० रहेको अनुमान छ । केन्द्रका निर्देशक डा. तारा पोखरेलका अनुसार कुल संक्रमित मध्ये १६ हजार ४ सय २८ जना ( ५३ प्रतिसत ) मात्र एआरभी उपचारमा आएका छन् । उपचारमा आउन नसकेका संक्रमितलाई खोजेर उपचारसम्म ल्याउन सक्नु अवको प्रमुख चुनौति रहेको डा. पोखरेलले बताए । एचआईभी संक्रमितको उपचारमा हरेक वर्ष प्रति व्यक्ति १५ हजार रुपैया खर्च भइरहेको उनले जानकारी दिए । उपचार खर्च ग्लोवल फण्ड, डब्लूएचओ र नेपाल सरकारले बेहोर्ने गरेका छन् ।
नेपालमा रहेका कुल संक्रमित मध्ये पुरुषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको सरकारको तथ्यांक छ । सन् २०१० देखि २०१७ सम्मको तथ्यांक हेर्ने हो भने विश्वमा एचआईभीको नयाँ संक्रमण १६ प्रतिसतले घटेको छ भने ३५ प्रतिसत बालबालिकामा हुने नयाँ संक्रमण घटेको छ । त्यसैगरि शनिबार नेपाल सहित विश्वभरि नै विश्व एड्स दिवस मनाइएको छ । एचआईभीको जाच गराऔ, आफ्नो अवस्था थाहा पाऔ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाएको छ । नेपालमा हुने एचआईभी संक्रमण मध्ये ७४ प्रतिसत असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको पाइएको छ ।
Leave a Reply