हेल्थ टुडे,
काठमाडौँ : जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एक साथ सञ्चालनले ती दुबैै क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको छ । विश्व वन्यजन्तु कोष र नेपाल परिवार नियोजन संघले चितवन, रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा संयुक्त रुपमा सञ्चालन गरेको जनसङ्ख्या, स्वास्थ्य र वातावरण परियोजनाले ती क्षेत्रका वासिन्दामा वातावरण र प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको हो । विश्व बन्यजन्तु कोष नेपाल, विश्व वन्यजन्तु कोष फिनल्याण्ड, फेमेली फेडरेसन अफ फिनल्याण्ड र नेपाल परिवार नियोजन संघको साझेदारीमा कार्यान्वयनमा ल्याएका तीनवर्षे कार्यक्रमको समीक्षा गर्न राजधानीमा बुधबार आयोजित कार्यक्रममा जैविक संरक्षणका विविध आयामबारे समुदायलाई सचेतना ल्याउनेक्रममा यौन तथा प्रजनन स्वास्थ्यका जानकारीले समुदायमा सकारात्मक प्रभाव परेको जानकारी दिइयो । कार्यक्रमका अवधिमा ती जिल्लाका तीन लाख १६ हजार जना लाभान्वित भएको परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुभाषचन्द्र श्रेष्ठले जानकारी दिए । विशेष गरी राष्ट्रिय निकुन्ज क्षेत्रका मध्यवर्तीमा बसोबास गर्ने समुदायलाई वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका सहभागी आय आर्जन बढाउने तथा उनीहरुको यौन तथा प्रजनन स्वास्थ्य स्थितिमा सुधार ल्याउन नेपालमा पहिलोपटक यस किसिमको नौलो कार्यक्रम सञ्चालन गरिएको थियो । .मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा आफ्नै घर आँगनमा क्लिनिक स्थापना गरी प्रदान गरिएको थियो । कार्यक्रममा नोपलका लागि फिनल्याण्डका राजदुत पेर्ति आन्तिनेतले जनसङ्ख्या, स्वास्थ्य तथा वातावरण परियोजनाले समुदायमा सकारात्मक प्रभाव परेको बताए ।
नेपाल परिवार नियोजन सङ्घका महाप्रवन्धक कृष्णप्रसाद विष्टले समुदाय स्वास्थ्य भए मात्र जैविक विविधता संरक्षणमा योगदान दिनसक्ने कुरालाई ध्यानमा राखी जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एकसाथ सञ्चालन गरिएको र यसले सकारात्मक प्रभाव पारेको बताए । विश्व संरक्षण सङ्घका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले जैविक संरक्षणका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक पर्दाेरहेछ भन्ने विषय परियोजनको उपलब्धिले देखाएको बताए । विश्व वन्यजन्तु कोषका निर्देशक शिवराज भट्टले परियोजनाले हासिल गरेका उपलब्धीका बिषयमा प्रकाश पारेका थिए । नवलपरासी कावासोती नगपालिकाका उपप्रमुख प्रेमशङ्कर करडियाले आफ्नो नगरपालिकाले जैविक संरक्षक र यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा लगानी बढाएको जानकारी दिए । (रासस)
Leave a Reply