हेल्थ टुडे,
विराटनगर,३० जेठः सुनसरीको धरान उपमहानगरपालिकाबाट सुरु भएको डेंगु संक्रमण अन्य तीन जिल्लामा पनि फैलिएको छ । सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सुनसरीमा मात्रै संक्रमितको संख्या ५४८ पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।
३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् । मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ । मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै, सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङले सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।
यसैबीच, डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षीय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।
एक हप्ताभित्र एक हदसम्म डेंगु नियन्त्रणमा आउने प्रदेश सरकारको दावी छ । बैठकले मेची अस्पताल झापा, कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारका लागि व्यवस्था गरिने निर्णय गरेको छ । बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ । प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कामबारे दैनिक रिपोर्टिङ गर्न निर्देशन समेत दिएको छ ।
यता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ३० जना हाराहारी विरामी उपचार गर्न अस्पतालमा बस्ने गरेका छन् । अस्पताल प्रशासनका अनुसार बुधबारसम्म डेंगुको शंका लागेर १५७४ विरामी अस्पतालमा आएका थिए । उनीहरु मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको छ ।
डेंगुको शंका लागेर उपचारका लागि आउने विरामीको संख्या दैनिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ । सुनसरीको धरानमा डेंगुको संक्रमण देखिएको एक महिना पुरा भएको छ । यो अवधीमा स्थानीय सरकार र प्रदेश सरकरले नियन्त्रणका लागि निरन्तर प्रयास गरेपनि नियन्त्रण हुनुको सट्टा झन् बढिरहेको छ ।
Leave a Reply