हेल्थ टुडे,
डडेल्धुरा,३० असारः विगत चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुराका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सदरमुकाम अमरगढीका स्थानीय बासिन्दाले अस्पतालको सेवा पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै आइतबार जुलुस निकालेका हुन् ।
चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको छ । बागबजारबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी जनताको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासीको चेतावनी छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको जानकारी दिएका छन् । अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका निमित्त मेसु जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपिडी सेवा समेत पूर्णरुपमा बन्द हुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भउका छन् ।
अस्पतालको ओपिडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य छ पहाडी जिल्लाका बिरामी समस्यामा परेका छन् ।
Leave a Reply