हेल्थ टुडे,
काठमाडौं, १७ कात्तिक : मुटु सल्यचिकित्सक प्रा. डा. भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठककले काउन्सिलको रिक्त अध्यक्षमा प्रा. डा. कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यकाल चार महिना पहिले सकिएपछि काउन्सिलमा अध्यक्षको पद रिक्त थियो । डा. कोइरालाको नाम त्रिविको उपकुलपतिमा समेत चर्चामा थियो । डा. बास्कोटा र डा. कोइरालामध्ये एक जनालाई त्रिविको उपकुलपति बनाउने इच्छा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको कुरा बाहिर आएपछि यी दुई चिकित्सक मध्ये त्रिविको उपकुलपति को बन्दा त ? भन्ने जिज्ञाषा धेरैमा थियो । काउन्सिलमा डा. कोइरालालाई नियुक्त गर्ने निर्णय भएपछि त्रिवि उपकुलपतिमा डा. बास्कोटाको संभावना बढी रहेको स्रोतले बताएको छ । तर अहिलेसम्म त्रिविको उपकुलपतिको नियुक्ती भने भइसकेको छैन ।
काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्ष हुन्छ । डा. बास्कोटाभन्दा पहिलेका काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल बिबादमा तानिएपनि डा. बास्कोटा कुनै पनि बिबादमा तानिएका थिएनन । काउन्सिलका रजिस्टार सहित रिक्त सदस्यहरुको पदपूर्ति छिट्टै गरिने सरकारका प्रवक्ता एवं सूचना मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन ।
Leave a Reply