हेल्थ टुडे,
काठमाडौ,२५ कात्तिकः सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले पुनः १५ दिनको अल्टिमेटम दिएको छ । तर, मेडिकल कलेजहरुले तोकेभन्दा बढी असुलेको शुल्क फिर्ता गर्न पटक–पटक दिएको अल्टिमेटम उल्लंघन गर्दै आएका छन् । तर, सरकारले कुनै कारबाही गर्न सकेको छैन । आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सम्बन्धित अधिकारीको बैठकले अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न १५ दिन समय दिने निर्णय गरेको हो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकाजू, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलगायत थिए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्णयको माइन्युट भएपछि सार्वजनिक गर्ने बताए । विद्यार्थीसँग उठाएको बढी शुल्क फिर्ता गर्न ८ चैत ०७५ मा सरकारले एकमहिने अल्टिमेटम दिएको थियो । तर, कलेजहरूले कार्यान्वयन गरेनन् । त्यसपछि चितवन मेडिकल, पोखरा मेडिकललगायतलाई विद्यार्थीसँग सहमति गराएर जिल्ला प्रशासनबाट अल्टिमेटम दिइँदै आएको छ ।
फेरि पनि अटेर गरेपछि ६ असोजमा गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको बैठकले सबै निजी मेडिकल कलेजलाई एकमहिने अल्टिमेटम दिएको थियो । नटेर्ने कलेजलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत ठगी मुद्दामा कारबाही गर्ने चेतावनी पनि दियो । तर, अझै टेरेनन् । ठगी मुद्दा चलाउने चेतावनी दिएको सरकारले अल्टिमेटम अवधि सकिएको १८ दिनपछि आइतबार फेरि १५ दिनको समय दिने निर्णय गरेको छ ।
बढी शुल्क असुलेको विरोधमा पढ्न छाडेर विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन् । विद्यार्थी ठग्ने कलेजलाई कारबाही गर्नुको सट्टा सरकार उल्टै विद्यार्थीमाथि दमनमा उत्रिँदै आएको छ । आ–आफ्नो कलेजको प्रांगणदेखि सिंहदरबारको प्रांगण माइतीघरसम्म चिच्याउँदा पनि पीडित विद्यार्थीले न्याय पाएका छैनन् ।
सरकारले एमबिबिएसका विद्यार्थीसँग काठमाडौं उपत्यकाका कलेजलाई ३८ लाख ५० हजार र उपत्यकाबाहिरका कलेजलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क उठाउन मापदण्ड तोकेको थियो । तर, निजी मेडिकल कलेजले नेपाली विद्यार्थीलाई कलेजपिच्छे चर्को शुल्क असुली गरेका छन् । सरकारले तोकेको शुल्कमा पठनपाठनमा लाग्ने ट्युसन, ल्याब, लाइब्रेरीदेखि सम्पूर्ण शुल्क समावेश गरिएको छ । तर, कलेजहरूले विभिन्न शीर्षक तोकेर शुल्क असुलेका छन् ।
Leave a Reply