हेल्थ टुडे,
काठमाडौँ, १८ असार : नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले स्वास्थ्य पत्रकारहरुका लागि एक दिन रिसर्च कम्युनिकेशन सम्वन्धि तालिम सम्पन्न गरेको छ । ‘ट्रेनिङ वर्कसप अन रिसर्च कम्युनिकेशन ः रोल अफ मिडिया’ नामक उक्त तालिम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा ४० जना स्वास्थ्य पत्रकार सहभागी थिए ।
तालिममा एनएचआरसीका कार्यकारी डा. प्रदीप ज्ञवाली, हेल्थ कन्सर्न नेपालका प्रमुख डा सुवास प्याकुरेल, एनएचआरसीका पूर्व सदस्य सचिव डा. खेम कार्की, अनुसन्धानविद् डा. मेघनाथ धिमाल र कान्तिपुरका सम्पादक उमेश चौहानले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य अनुसन्धानको प्रवद्र्धनमा मिडियाको भूमिको बारेमा प्रस्तुति दिएका थिए ।
बैज्ञानिक खोजमा आधारित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा डा कार्की, यस्तै वैज्ञानिक लेखन र सञ्चारको विषयमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रmममा डा ज्ञवालीले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्राय र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कसरी कलम चलाउने भन्ने विषयमा सहज होस भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको बताए । उनले आफूहरु गुणस्तरीय अनुसन्धान होस भन्ने चाहेको भन्दै त्यसका लागि राज्यले बजेट बढाउनु पर्ने बताए ।
स्वास्थ्य बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्छ तर यहाँ त एउटा एमआरआई मेसिन किन्ने जति पनि बजेट पाउदैन रिसर्चले उनले भने । उनले अनुसन्धानका लागि स्वास्थ्यको करीब ०.५ प्रतिशत बजेट छुट्याइएको जानकारी दिए । डा धिमाललले अहिले पनि परिषद्ले स्वास्थ्यका विषयमा धेरै नै अनुसन्धान गरिरहेको भन्दै त्यसका नतिजालाई मौलिक (नेपाली) भाषामा कसरी प्रस्तुति गर्ने भन्ने चुनौती रहेको बताए । उनले साधारण भाषामा जनतालाई सुसूचित गर्ने गरी खोजबाट आएका निस्कर्षहरुलाई प्रस्तुति गर्नुपर्ने बताए ।
डा प्याकुरेलले स्वास्थ्य अनुसन्धानको प्रवर्धन गर्न संचार माध्यमको भूमिका एकदमै महत्वपूर्ण रहेको भन्दै यसमा लगानी बढाउनुपर्ने बताए । उनले परिषद र पत्रकारबीच सहकार्य हुनुपर्ने बताए ।
Leave a Reply