हेल्थ टुडे,
काठमाडौं, १७ भदौ : पीसीआर नेगेटिभ भएको रिपोर्ट भएकाले मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाउने भएका छन । उपत्यका प्रवेश गर्न कोरोना परीक्षण रिपोर्टलाई अनिवार्य सर्त बनाइएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञा आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने कुरा अनिवार्य सर्तका रुपमा अगाडि सारेका छन । निषेधाज्ञा आदेशको बुदा नम्बर १० मा भनिएको छ, ‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।’
सरकारले औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई अति आवश्यक सेवा अन्तरगत राखेको छ । जिल्ला प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं उपत्यका आउनेले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट हुनुपर्नेछ । उपत्यकाका तिन वटै जिल्ला प्रशासनले भदौ ४ गतेदेखि सुरु गरेको निषेधाज्ञा यही भदौ २४ गतेसम्मका लागि केही खुकुलो बनाउदै जारी राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा उपत्यका लगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । दैनिक एक हजार हाराहारीमा संक्रमित फेला परिरहेका छन् ।
Leave a Reply