हेल्थ टुडे,
काठमाडौँ, १५ मंसिर : नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा अनुमानित ३० हजार ३०० संक्रमित मध्ये २० हजार मात्र उपचारमा छन ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार अन्तरक्रिया केन्द्रकी निर्देशक डा सुधा देवकोटाले सन् २०३० भित्र नेपालबाट एचआईभी संक्रमण निर्मूल पार्ने लक्ष्य भए पनि १० हजार अनुमानित संक्रमित उपचारमा आउन नसकेकाले समस्या भएको बताइन । पछिल्ला वर्षमा सरकारले एचआईभी नियन्त्रणमा सफलता पाइरहेको भएपनि हराइरहेकाहरुको खोजी नहुदा चुनौति अझै बाकी रहेको डा. देवकोटाले जानकारी दिइन ।
उनले संक्रमणमा परेकाहरु आफूप्रति हुनसक्ने सामाजिक भेदभाव तथा कलंकको डरले लुकेका पनि हुनसक्ने डा. देवकोटाको अनुमान छ ।
केन्द्रका बरिष्ठ मेडिकल सुपरीटेन्डेन डा पवनकुमार साहले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशीहरु भएको बताए । उनले त्यसमध्ये पनि सुईद्धारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिमसमूहमा भन्दा उच्च रहेको बताए ।
केन्द्रको तथ्यांक अनुसार सन् २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको हो । त्यसबेला २ हजार ६१ जना नयाँ संक्रमित रहेको अनुमान थियो । यस्तै सन् २०२० मा ८० बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या पनि सन् २०१० को तुलनामा ६३ प्रतिशतले नै कमी हो । त्यसबेला २१५ जना बच्चाहरुमा नयाँ संक्रमण देखिएको थियो ।
मेडिकल सुपरीटेन्डेन्ट डा साहले एड्सबाट मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको बताए । सन् २०१० मा १ हजार ४१३ जनाको एड्सबाट मृत्यु भएको थियो तर सन् २०२० मा ६३६ जनाको ज्यान गयो । ‘ज्यान जानु राम्रो कुरा त होइन तर यो संख्या ५५ प्रतिशतले घट्नु हाम्रो कामहरु प्रभावकारी भएका छज् भन्नु हो,’ डा साहले भने ।
Leave a Reply