हेल्थ टुडे,
काठमाडौँ, २२ पुष : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ । जसको सुरुवात गण्डकी प्रदेशबाट सुरु हुने भएको छ । त्यसपछि सुदूरपश्चिम गर्दै सात वटै प्रदेशमा प्रत्यारोपण र डायलासिल सेवा सञ्चालन हुने छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।
प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ‘सातै प्रदेशमा प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने प्रयोजनअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्न लागेका हौं,’ डा. श्रेष्ठले भने । यसअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तालिम लिएका जनशक्तिबाटै सुमेरु अस्पताल, किस्ट मेडिकल कलेज, निदान अस्पताल तथा भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा मिर्गौला प्रत्यारोपण सुरु भएको पनि उनले जानकारी दिए । डा. श्रेष्ठका अनुसार निकट भविश्यमै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने छन् । देशमा अहिले हरेक वर्ष ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ ।
प्रतिष्ठानले प्रदेशअन्तर्गत विभिन्न स्थानमा डायलासिस सेवासमेत विस्तार गर्ने भएको छ । प्रतिष्ठान र केन्द्रबीचको समझदारी पत्रमा प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्न प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने उल्लेख छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म ८ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । यो देशको सरकारी स्तरबाट सञ्चालित एक मात्र अंग प्रत्यारोपण अस्पताल हो ।
Leave a Reply