हेल्थ टुडे,
काठमाडौँ, ३१ बैसाख : जनता समाजवादी पार्टी नेपालबाट हालै फुटेको जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्यमन्त्रीमा वीरगन्जका सांसद एवं पार्टीको उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको बताइएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए । त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ । १२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसदमा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन ।
Leave a Reply