हेल्थ टुडे,
काठमाडौँ, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुभारम्भ गरेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पनि उपस्थिति रहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेका हुन् ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ ।
यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ । चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको १७ लाख ७० हजार ४०० भाइल खोप उपलव्ध गराएको छ । यो खोप एक डोज मात्रै लगाए हुन्छ । ओलीले खोप अभियान शुभारम्भ गरेसंगै देशैभर खोप अभियान सुरु भएको छ ।
सरकारले यो वर्ष अभियानको रुपमा सुरु गरेपनि अर्को बर्ष देखि नियमित खोप तालीकामा यो खोप राखिसकेको छ ।
किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने छ । अभियानका लागि १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । ‘विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन् ।
खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिएको छ । अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुनेछ ।
Leave a Reply