हेल्थ टुडे,
काठमाडौं, १८ भदौ : भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला नेपाल न्यूरोसर्जन समाजले राहत तथा उद्धारका लागि ५ लाख १ सय १ रुपैयाँ सहयोग गर्ने भएको छ।
समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. विनोद राजभण्डारीले जारी गरेको विज्ञप्तिमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्।बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति हुनुका साथै कैयौं नागरिक बेपत्ता र घाइते भएको भन्दै समाजले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकता दिन आग्रह गरेको छ।
समाजले रु. ५ लाख १ सय १ रुपैयाँ सहयोग घोषणा गर्नुका साथै विपद्मा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज, स्वयंसेवी र सर्वसाधारणको भूमिकाको प्रशंसा गरेको छ। अध्यक्ष डा. राजीव झाले नेतृत्व गरेको न्यूरोसर्जन समाजको यो सहयोग स्वास्थ्य क्षेत्रका पेशागत संस्थाहरूले विपद्का बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशका रूपमा पनि आएको छ।
समाजले अन्य सहयोगी मनहरूलाई समेत राहत तथा उद्धार अभियानमा सहभागी हुन आह्वान गरेको छ। बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाजले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धारका लागि पनि समाजले कामना गरेको छ।








Leave a Reply