हेल्थ टुडे,
काठमाडौं, १० पुष : नेपाल चिकित्सक संघको अगामी नेतृत्वका लागि चुनावी मैदानमा ओर्लिएको डा. बद्री रिजाल नेतृत्वको टीमले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो टीमको प्रतिवद्धता सार्वजनिक गरेको छ ।
चिकित्सकको दरबन्दी, पारिश्रमिक तथा सेवा सुविधा, सुरक्षा, रेपिड रेस्पोन्स टीम,ड्युटी आवर र मानसिक स्वास्थ्य, शैक्षिक कार्यक्रम र अनुसन्धान र सबै चिकित्सक अट्ने एनएमए, सबैलाई जोड्ने एनएमए गरि ६ वटा प्रमुख प्रतिवद्धता टीम बद्रीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिकित्सक संघ अध्यक्षका प्रत्यासी डा. बद्री रिजालले चिकित्सकको हक हित मात्र नभएर गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आफुले नेतृत्व गरेको टीम विजय हुनु पर्ने आवश्यकता रहेको बताए । चिकित्सा पेसा, पेसाकर्मी र समग्र स्वास्थ्य सेवा सुधार गर्ने हुटहुटीले आफु ट्रमा सेन्टरको निर्देशकको पदबाट राजिनामा दिएर चुनावी मैदानमा ओर्लिको डा.रिजालले बताए । पत्रकारहरुका प्रश्नको जवाफ दिदै डा. रिजालले नेपालको स्वास्थ्य सेवा सुधारका लागि चिकित्सक, सरकार, नागरिक समाज र पत्रकार सबै मिलेर लाग्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा चिकित्सक संघका वर्तमान कोषाध्यक्ष एवं उपाध्यक्षका उम्मेदवार डा. प्रमोद जोशीले संघको नेतृत्व गर्ने टीम अनुभवी र सक्षम हुनु पर्नेमा जोड दिदै टीम बद्रीका उम्मेदवार अनुभवी र सक्षम दुबै भएकाले यही टीमले संघको भावी नेतृत्व गर्ने दावी गरे । संघका महासचिव एवं टीम बद्रीबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. संजिव तिवारीले चिकित्सकहरुको हक र हितका पक्षमा आफुहरुले बिगत देखि नै काम गर्दै आएकोले यो पटक पनि आफूहरुलाई देश भरिका चिकित्सकहरुले नेतृत्व गर्ने अवसर प्रदान गर्ने बताए । नेपाल चिकित्सक संघको भावी नेतृत्वका लागि आउदो माघ २ र ३ गते काठमाडौं उपत्यका बाहिर र माघ १५, १६ र १७ गते काठमाडौं उपत्यका भित्र निर्वाचन हुने छ । भावी नेतृत्वका लागि मुख्य गरि डा. बद्री रिजाल र डा. मंगल रावलबिच प्रतिस्पर्धा हुने देखिएको छ । संघमा देश भरिका १६ हजार बढी चिकित्सक सदस्य रहेका छन् ।
टीम बद्रीको वरिष्ठ उपाध्यक्षमा डा. संवीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, उपाध्यक्षहरुमा डा. रोसन खड्का, डा. अमित रञ्जन मिश्र, डा. सुवास भट्टराई, डा. नवराज लम्साल, डा. नन्दा गुरुड र डा. प्रमोद जोशी रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह सचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेज्सुसिंह मल्ल रहेका छन् । सदस्यहरुमा डा. सुमेध मिश्र, डा. परसुराम घिमिरे, डा. राकेश शाह, डा. विना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले रहेका छन् ।
चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक







Leave a Reply