हेल्थ टुडे,
काठमाडौं, १ असोज : भोटेकोशी–रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै ह्यूमन लाइफ साइन्सले भारतको खोप उत्पादक कम्पनी जीसीबीसी र औषधि आयातकर्ता संघ, नेपालको सहकार्यमा एक करोड ५५ लाख रुपैयाँ बराबरको हैजा विरुद्वको खोप शान्कोल सरकार मार्फत सहयोग गरेको छ । बाढी तथा पहिरोजस्ता विपद्का कारण खानेपानी र सरसफाइमा समस्या उत्पन्न भई हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त खोप सहयोग गरेको हो ।
ह्यूमन लाइफ साइन्सका अध्यक्ष एवं औषधि आयातकर्ता रामानन्द दासले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको व्यवस्थापन महाशाखालाई २४ हजार ९६० डोज हैजा विरुद्धको खोप सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । ह्यूमन लाइफ साइन्स नेपालका लागि जीसीबीसी भ्याक्सिन प्रा.लि. (शान्था बायोलोजिक्स ) को आधिकारिक आयातकर्ता हो । औषधि आयातकर्ता संघ, नेपालले सरकारलाई उपलब्ध गराउने भनेको ३ करोड रुपैया बराबरको औषधि मध्ये यो दोश्रो चरणको सहयोग रहेको औषधि आयातकर्ता एवं ह्यूमन लाइफ साइन्सका अध्यक्ष रामानन्द दाशले जानकारी दिए । औषधि आयातकर्ता संघले यो भन्दा पहिले नै सरकारलाई पहिलो चरणको औषधि सहयोग गरिसकेको छ । खोप हस्तान्तरण कार्यक्रममा विपद्पछि प्रभावित समुदायमा रोगको जोखिम न्यूनीकरणका लागि समयमै आवश्यक स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध गराउनु आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका थिए ।
बाढी प्रभावित क्षेत्रमा हैजा लगायत पानीजन्य रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत खोप सहयोग गरिएको दाशले बताए ।सरकारले प्राप्त खोपलाई बाढी प्रभावित क्षेत्रमा आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरी प्रयोग गर्ने जनाएको छ । विशेषगरी विपद्का कारण स्वास्थ्य जोखिममा रहेका तथा सुरक्षित खानेपानी र सरसफाइको पहुँच प्रभावित भएका समुदायलाई लक्षित गरी खोपको उपयोग गरिने स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सचिव डा. विकाश देवकोटाले जानकारी दिएका छन् ।
बाढीपछि विभिन्न स्वास्थ्य जोखिम बढिरहेका बेला निजी क्षेत्रबाट गरिएको यस्तो स्वास्थ्य सामग्री सहयोगले प्रभावित समुदायमा सम्भावित रोगको रोकथाम तथा नियन्त्रणका लागि थप सहयोग पुग्ने डा. देवकोटाले बताए ।







Leave a Reply