हेल्थ टुडे
हाम्रो देशमा बर्सेनि ब्रेन स्ट्रोक (मस्तिष्कघात)का बिरामीको संख्या बढिरहेको पाइएको छ । त्यसमा पनि जाडो मौसममा अन्य मौसममा हुनेभन्दा २० प्रतिशत ब्रेन स्ट्रोक बढी हुने विज्ञहरू बताउँछन् । जाडोमा ब्रेन स्ट्रोकसँगै पक्षघातको समस्या पनि बढ्ने गरेको छ । वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तका अनुसार पछिल्ला वर्षमा यो समस्याबाट युवायुवती बढी पीडित बन्न थालेका छन् । जाडो मौसममा चिसोका कारण रगतको नसा खुम्चिन्छ । यसले रगतको नसामा अवरोध आउने सम्भावना रहन्छ । यसका अलावा यो मौसममा चिसोकै कारण रगत बाक्लो हुने भएर रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढी हुन्छ । ब्रेन स्ट्रोक हुँदा जुन व्यक्तिको मस्तिष्कको बायाँ भागमा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको दायाँ भागमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोक सम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।
के हो स्ट्रोक ?
हाम्रो मुटुदेखि मस्तिष्कमा विभिन्न रक्तनलीका माध्यमले निरन्तर रगतको आपूर्ति भइरहन्छ । यसले गर्दा मस्तिष्कका लाखौं कोषिकाको आवश्यकता पूर्ति हुन्छ । मस्तिष्कसम्म रगत पु¥याउन अवरोध उत्पन्न हुँदा ब्रेन अट्याक हुन्छ । रक्तनलीमा रगत जमेर अवरोध वा रक्तनली फुटेर मस्तिष्कमा अक्सिजन र पोषणको कमीले गर्दा मस्तिष्कको केही कोषको एक्कासि मृत्यु हुनु नै ब्रेन अट्याक हो । ब्रेन अट्याक हँुदा एक मिनेटमा २० लाखसम्म मस्तिष्कका कोष मर्न थाल्ने विज्ञहरु बताउँछन् ।
चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ । सामान्यत स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ । हार्ट अट्याक र ब्रेन अट्याक मुटु र मस्तिष्कका लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्कघातलाई त्यति गम्भीरताका साथ लिने गरिएको पाइँदैन । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्कघातमा व्यक्ति विशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।
ब्रेन स्ट्रोकको प्रमुख लक्षण
मुख बांगिनु,एक्कासि एउटा हात लुलो हुनु,बोली लर्बराउनु वा स्वरै गुम्नु,दृष्टिमा अचानक समस्या उब्जिनु, एक्कासि कुरा बुझ्न अप्ठ्यारो हुनु
किन हुन्छ त यसो ?
रक्तचाप बढ्नाले,मुटु रोग हुनाले,मधुमेह देखिनाले, व्यायामको अभाव हुनाले, धूमपान र तमाखु सेवन गर्नाले, मोटापन हुनाले, कोलेस्ट्रोल हुनाले, बढी मद्यपान गर्नाले
ट्रोकका किसिम
स्ट्रोक मुख्यतः इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अट्याक गरी तीन प्रकारका हुन्छन् । इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा.पन्तको आकलन छ । हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ । ट्रान्सिएन्ट इस्किमिक अट्याकलाई मिनी स्ट्रोकसमेत भनिन्छ । करिब एक तिहाइ बिरामीलाई ठूलो स्ट्रोक हुनुभन्दा अघि हल्का स्ट्रोक हुन सक्छ । यो समस्या अस्थायी हुन्छ । यो समस्या रगतको सञ्चारमा अल्पकालीन अवरोधले गर्दा हुन्छ । यो सानो स्ट्रोक आएपछि भविष्यमा हुन सक्ने ठूलो स्ट्रोकप्रति सचेत हुनुपर्छ ।
‘हल्का स्ट्रोक आउनुलाई संकेतको रूपमा लिएर तुरुन्त स्नायु चिकित्सकसँग उपचार गराउनुपर्छ,’ डा.पन्त भन्छन्, ‘यो स्ट्रोक एमआरआई, सिटी स्क्यान गर्दासमेत नदेखिन सक्छ ।’
Leave a Reply