विकलचन्द्र आचार्य
उच्च रक्तचाप वा हाइपरटेन्सन भनेको रक्तचाप जरुरीभन्दा बढी हुनु हो । रक्तचाप उच्च भएका प्रायः देखिन वा अनुभव गर्न सकिँदैन । तर समयमा नै उपचार गरिएन भने मुटु ठूलो हुन पुग्छ । राम्रोसँग उपचार भएन भने रगत शरीरभरि पम्प गर्न मिल्दैन । यो हार्ट फेलियरको कारक बन्न सक्छ ।उच्च रक्तचापले हृदयाघात वा स्ट्रोकको जोखिम बढाउँछ । यो स्मरण शक्ति हराउने रोग (ड्रिमेन्सिया) सँग पनि जोडिएको छ । यसले मिर्गौला रोग तथा पेरिफेरल आर्टरी रोग लग्न सक्छ । खुट्टामा असर गर्न सक्छ ।
रक्तचापका कारणहरू के हुन् ?
९० प्रतिशतभन्दा बढी उच्च रक्तचापको कारण थाहा छैन । तैपनि धेरै जोखिमको तत्वहरूले उच्च रक्तचापको विकास हुने सम्भावना बढाउँछ । उच्च रक्तचापको खास कारण नभए डाक्टरले प्राइमरी हाइपरटेन्सन भनेर वर्गीकरण गर्छन् । जोखिमको विकास गर्ने निम्न तत्वहरू छन् ः
जीवनशैली : धेरै नुन सेवन गर्नु, पर्याप्त मात्रामा फलफूल र सब्जी नखानु, क्रियाशील कम हुनु, धेरै मोटोपन हुनु, अधिक मदिरा सेवन गर्नु आदिले उच्च रक्तचापको कारण बन्न सक्छ । धूमपान पनि प्रमुख जोखिममध्ये एक हो ।
वंशाणुगत :आफ्नो रगतको नातामा उच्च रक्तचाप भए वंशाणुगत रूपमा परिवारका अरू सदस्यलाई पनि हुने सम्भावना पाइएको छ ।
जातीय समुदाय : अफ्रिकन क्यारेबियन र दक्षिण एसियाका केही जातीय समुदायका मानिसमा अरूलाई भन्दा बढी उच्च रक्तचाप हुने जोखिम बढी रहन्छ ।
उमेर : अस्वस्थकर जीवनशैली निरन्तर हुँदा उमेर बढ्दै जाँदा पनि उच्च रक्तचाप हुन सक्छ । उच्च रक्तचाप हुन सक्ने अन्तरनिहित कारणहरू करिब १० प्रतिशत उच्च रक्तचाप हुनुको कारण अन्तरनिहित अवस्थाको परिणाम हो । यी कारणहरूलाई सेकेन्डरी हाइपरटेन्सन भनेर वर्गीकरण गरिन्छ । मिर्गौला रोग, मधुमेह, मिर्गौलामा आपूर्ति गर्ने आर्टरीहरू साँघुरिएमा, हार्मोनको अवस्था जस्तै कुसिङ सिन्ड्रोम, शरीरको टिस्यु असर गर्ने अवस्था जस्तै लुपस, परिवार नियोजनका चक्की, दर्दनाशक औषधिजस्तै आइबु्रफिन आदि हुन सक्छन् ।
कसरी रोकथम गर्ने ?
नम्बर थाहा पाऔं : बेलायतमा तीनजनामध्ये एक जनालाई उच्च रक्तचाप छ । तर तिनीहरूमध्ये ३३५ लाई उच्च रक्तचाप भएको थाहै छैन किनभने रक्तचाप बढेको धेरै मान्छेहरूमा कुनै लक्षण हुँदैन (ज्यादै धेरै भएमा मात्रै थाहा हुन्छ) । यसकारण यो मीनघातक भनेर परिचित छ । उच्च रक्तचाप हुँदा मान्छे बिरामी हुँदैनन् । उनीहरूको दिनचर्या वर्षांैसम्म उस्तै रहिरहन्छ । पत्तै नपाइकन बसिरहन्छन्, स्ट्रोक वा हृदयाघात भएपछि मात्र परिणाम देख्छन् । यसबाट आफ्नो रक्तचापको नम्बर थाहा पाउनु जरुरी छ । शरीरको तौल, उचाइ र रक्तचाप जान्नु महत्वपूर्ण हुन्छ । ४० वर्षभन्दा माथिका मान्छेले प्रत्येक वर्ष रक्तचाप नाप्नु आवश्यक हुन्छ ।
खाना र जीवनशैली सुधार : भविष्यमा उच्च रक्तचाप कम गर्न तल भनिएको मुख्य पाँचवटा खाना र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
नुन कम खाऔं : अधिक नुन सेवन उच्च रक्तचापको कारण वन्न सक्छ । प्रायः मान्छेहरू दिनमा १०–१२ ग्राम नुन खान्छन्, तर ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । जति धेरै तयारी खाना खाइन्छ, उति नै नुनको मात्रा धेरै हुन्छ बढी ।
फलफूल र सब्जी खाऔं : फलफूल र सब्जी पोटासियमका उत्तम स्रोत हुन् । यसले रक्तचापलाई कम गर्दछ । फलफुल र सब्जी घटीमा दिनको पाँच पोर्सन खानुपर्छ ।
क्रियाशील होऔं : सम्भव भएसम्म तन्दुरुस्त हुने कोसिस गर्नुपर्छ । यसले लामो अवधिमा रक्तचाप कम गर्नुको साथै स्वस्थकर बजन राख्न मद्दत गर्दछ । हप्ताको पाँच दिन दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने उद्देश्य राख्नुपर्छ । सामान्य हिँडडुल गरे पनि हुन्छ ।
मदिरा कम गरौं : अत्यधिक मदिरा सेवनले रक्तचापलाई अधिक असर गर्दछ । यसले स्ट्रोक हुने जोखिम बढाउँछ । हप्ताको १४ युनिटभन्दा कम पिउने सल्लाह दिइन्छ । एक युनिटमा २५ मिलिलिटर ह्विस्की (१ पेग), आधी प्वाइन्ट बियर, एउटा सानो गिलास वाइन (१२५ मिलिलिटर) हुन्छ ।
बढी तौल कम गर्ने : बढी तौलको हुनुहुन्छ भने रक्तचाप बढी हुन्छ । उचाइ अनुरूप ठीक तौलको हुनुहुन्छ भने उच्च रक्तचाप हुने सम्भावना कम हुन्छ । उल्लेखित पाँच किसिमको परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ । स्वस्थकर खाना र व्यायामले शक्तिको लेवल बढाउँछ शरीरमा फुर्ति आउँछ ।
स्ट्रोक र हृदयाघात कम गर्ने अन्य उपाय ः रक्तचाप बढेको खण्डमा स्ट्रोक र हृदयघात हुने जोखिमलाई बढाउँछ । अरू कुराले पनि यो रोग लाग्ने सम्भावना बढाउँछ ।
धूमपान छोडौं : रक्तचाप बढेपछि ब्लड भेसल साँघुरिन्छ, धूमपानले यही गर्दछ । तपाईं धूमपान गर्नुहुन्छ र उच्च रक्तचाप छ भने आर्टेरीहरू धेरै चाँडै साँघुरिन सक्छन् । यसले स्ट्रोक र हृदयाघातको जोखिम अत्यधिक बढ्छ । ब्लड भेसल साँघुरिदा कतिपय पुरुषहरू नपुंसक पनि बन्छन् ।
चिल्लो कम : आहारमा चिल्लो कम गर्नुपर्छ । सम्भव भएसम्म स्याथुरेटेर फ्याट निकै कम खानुपर्छ । स्याथुरेटेर फ्याट पाइने खानामा मासु, कुखुराको छाला, चीज, केक, बिस्कुट, तयारी खाना आदि पर्दछन् ।
चिन्ता कम गरौं : चिन्ताले रक्तचाप बढाउँछ । सत्य हो कि चिन्तित मनले अस्थायी रूपमा रक्तचाप बढाउँछ तर वैज्ञानिक हिसाबले स्थायी रक्तचाप बढाउँछ भनेर प्रमाणित गरिएको छैन । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । अस्वस्थकर खानेबानीलई प्रोत्साहित गर्न सक्छ । व्यायाम गरेमा चिन्ता केही हदमा दूर गर्न सकिन्छ रक्तचाप पनि कम हुन्छ ।
मधुमेहको नियन्त्रण गरौं : रगतमा चिनीको मात्रा बढी भए या बाक्लो र टाँसिने हुन्छ । शरीरभरि रगत पम्प गर्न मुटुले कडा मेहनत गर्नुपर्छ । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना प्रबल हुन्छ । क्रियाशील जीवनले उच्च रक्तचापको जोखिम कम गर्न मद्दत गर्छ ।
रक्तचाप बढे के गर्ने ?
खाना र जीवनशैलीले रक्तचाप ठीक राख्न महत्वपूर्ण भूमिका खेल्छ । यति गर्दा पनि रक्तचाप सामान्य नहुन सक्छ । परिवारको इतिहासमा उच्च रक्तचाप छ भने खाना र जीवनशैली परिवर्तन गर्नुका साथै डाक्टरको सल्लाह लिनुपर्छ । औषधिले रक्तचाप सुरक्षित तवरले कम गराउँछ । वैज्ञानिक प्रमाणले देखाएको छ कि रक्तचापको औषधिले स्ट्रोक र हृदयाघात हुने जोखिम न्यून गर्दछ ।
Leave a Reply