सन्ध्या केसी
भौगोलिक विकटताको प्रयायका रूपमा अहिले पनि सुदूरपश्चिमलाई हेर्ने गरिन्छ । यहाँको कतिपय माटोमा अझै वर्षभरि खान पुग्ने अन्न नफलेको कथा बाहिरिन्छ । यहीँकै समाजमा अझै तमाम सामाजिक समस्याहरू रहेका बिम्ब लेखिन्छन् । तर यही माटोमा पहिलो क्रान्तिकारी भीमदत्त पन्त, मुलुककै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, पहिलो सहिद दशरथ चन्द, तीन पटक प्रधानमन्त्री बन्न सफल लोकेन्द्रबहादुर चन्द र कांग्रेस सभापति शेरबहादुर देउवा जन्मिए । सयौं विद्वान, नेता, पत्रकार र डाक्टर यही माटोले जन्माएको छ । विडम्बना राज्यको उचित बाँडफाँट नमिलेकै कारण यस क्षेत्रमै जन्मिएका विद्वान, बुद्धिजीवी र डाक्टरले यही माटोमा सेवा गर्ने अवसर भने कमै पाए । यही माटो अर्थात् बैतडीको रोडीदेवलमा देवसिंह र रूपसिंह भण्डारीको कोखबाट जन्मिएका डा रमेशसिंह भण्डारी यतिबेला त्रिवि शिक्षण अस्पतालमा शल्यचिकित्सा विभागमा एसोसिएट प्रोफेसरको रूपमा सेवारत छन् । पाँच भाइबहिनीमध्येमा उनी एक्ला डाक्टर हुन् । दिदीबहिनी कञ्चनपुरको महेन्द्रनगरमा घरव्यवस्था गरेर बसेका छन् भने कान्छा भाइ जर्मनीमा छन् । सन् २००६ मा सर्जन बनेपछ डा भण्डारी लिभर, प्यांक्रियाज, बिलिएरी, ग्यास्टोइनटेस्टाइनल तथा लिभर टान्सप्लान्ट सर्जनको रूपमा कार्यरत छन् । शिक्षण अस्पतालको अलावा उनी बेलुकीको समय चाबहिलको मेडिकेयर नेसनल अस्पतालमा बिरामीको सेवामा तल्लीन हुन्छन् ।
डा. भण्डारीले शिक्षादीक्षाको मौका भने राजधानीमै पाएका थिए । उनले भीएस निकेतनबाट विसं २०४८ सालमा एसएलसी विशिष्ट श्रेणीमा पास गरे । पढाइमा अब्बल भण्डारी कक्षामा सधैं प्रथम हुन्थे । वीरेन्द्र सैनिक आवासीय माविबाट आईएस्सी गरेपछि उनी चिकित्सा पढाइका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरान हानिए । चिकित्सा पढ्दा उनको चाहना बालरोग विशेषज्ञ बन्ने थियो । तर समय क्रमले उनलाई शल्यचिकित्सक बनाइदियो । त्रिवि शिक्षण अस्पतालबाट जनरल सर्जरीमा एमएस गरेपछि उनी त्यही विभागमा उपप्राध्यापकको रूपमा कार्यरत भए । यहीबीचमा उनले एमसीएच इन सर्जिकल ग्यास्टोइन्टोलोजी डिग्री पनि त्रिवि शिक्षण अस्पतलाबाट हासिल गरे । सन् २००९ मा उनलाई अस्ट्रेलियन कलेज अफ सर्जन्सले एकवर्षे रोवन निक्स स्कलरसिप प्रदान गर्यो । पढ्दै सेवा गर्दै गर्ने क्रममा उनले सन् २०१३ मा एभिस्टियोन हस्पिटल मेलवर्नमा एकवर्षे इन्टरनेसनल फेलो अवार्ड प्राप्त गरे । यहाँ उनले लिभर प्यांक्रियाज बिलिएरी सर्जरी तथा लिभर ट्रान्सप्लान्टमा फेलोसिप प्राप्त गरे । यसअघि उनले बेल्जियममा विषयगत तालिम लिएका थिए ।
अध्ययन, तालिमको यो क्रमसँगै डा. भण्डारीले विभिन्न देशमा सर्जरीसम्बन्धी थुप्रै कार्यशालाहरूमा भाग लिएका छन् । उनले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शल्यचिकित्सासम्बन्धी दर्जनौं सोधकार्यहरू प्रस्तुत गरेका छन् । शैक्षिक योग्यता तथा अनुभवको कदरस्वरूप विभिन्न अन्तर्राष्ट्रिय सर्जिकल सोसाइटीको तर्फबाट अन्तर्राष्ट्रिय फ्याकल्टीका रूपमा उनलाई आमन्त्रण गर्ने गरिन्छ । हालसम्म डा भण्डारीका तीन दर्जनभन्दा बढी शल्यचिकित्सा सम्बन्धी आलेखहरू देश विदेशका जर्नलमा प्रकाशित छन् । यो क्रम अहिले पनि निरन्तर जारी रहेको उनी बताउँछन ।
नेपालमा चिकित्सा क्षेत्रमा विभिन्न सुपर स्पेसालिटीको विकास भए पनि लिभर प्यांक्रियाज र बिलिएरी सर्जरीले यति पहिचान बनाउन नसकेको उनको अनुभव छ । मिर्गौला प्रत्यारोपण सुरु भएको १० वर्ष बितिसकेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण पनि सुरु गरेको छ । अहिलेसम्म दुई जनाको प्रत्यारोपण गरेको छ । डा. भण्डारी यतिबेला चाडै त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण गर्ने योजना सहित अगाडि बढेका छन् । त्यसका लागि म्यानपावरको तयारीमा लागेको उनी बताउँछन् । यो सेवा त्यति सहज भने नभएको उनले बुझेका छन् । शिक्षण अस्पतालमा भौतिक पूर्वाधार र जनशक्ति भएकाले यो सेवा दिन सकिने उनको ठम्याइँ छ । धेरै जसो तयारी पुरा भइसकेको उनी बताउछन । डा. भण्डारी एउटा डाक्टरमात्र हो जस्तो लाग्दैन । उहाँ कुशल गुरु, शिक्षक पनि हो । कहिल्यै नथाक्ने, निराश नहुने र जहिल्यै नवीन सोचमा देखिनु उहाँको विशेषता हो । योङ, इनर्जेटिक र डाइनामिक उहाँका तीन पक्ष हुन् । सकारात्मक सोचका साथ केही नयाँ र खास गर्नुपर्छ भन्ने उहाँको जीवनको ध्येय नै हो ।
Leave a Reply