आनी छोइड डोल्मा,
आमा मिर्गौलाको बिरामी हुनुहुन्थ्यो । डायलासिस गराइरहनु पर्दथ्यो । म आमालाई असाध्यै माया गर्दथे । मलाई आमाको पिडा देख्दा असाध्यै माया लाग्दथ्यो । उहाँको पिडा देख्दा अलिकति पिडा लिन पाए लिन्थे जस्तो लाग्दथ्यो । म आमालाई सुमसुम्याउथे । चुम्मन गर्थे । त्यति बेला नेपालका थोरै अस्पतालमा मात्र डायलासिस सेवा थियो । नर्भिक हस्पिटलमा डा. ऋषि काफ्लेले डायलासिस गरिदिनु हुन्थ्यो । आमाको उपचारकैलागि भारतको चेन्नई, मुम्बई पनि धायौ । मिर्गौला रोगको उपचार महंगो एकातिर दुख अर्कोतिर उत्तिकै । म अलि हुनुखाने व्यक्तिलाई त यस्तो छ भने आर्थिक अवस्था दयनिय भएकाहरुलाई कति गाहो हुदो हो जस्तो लाग्दथ्यो । एकदिन अस्पतालमा एकजना नानी दुई सय रुपैया नभएर आफ्नो बुवाको डायलासिस गराउन नसकेर आसु झारिरहेको भेटे । मैले ती नानीलाई कुनै अप्ठ्यारो नमानी त्यति बेला दुई सय रुपैया दिए । पैसा दिएपछि मेरो मनमा लाग्यो, फेरि डायलासिस गराउनु पर्दा उसले कसरी खर्च जुटाउने होलिन । किनकी डायलासिस हप्तामा दुई तिन पटक सम्म गराउनु पर्छ । यस्ता थुप्रै घटना देखे मैले ।
मिर्गौला फेल भएकै कारण कारण मैले जन्मदाता आमा गुमाए । यसरी मैले एकातिर आमा गुमाउदाको पिडा र अर्कोतिर मिर्गौला विरामी तथा उनीहरुका आफन्तका पिडा नजिकबाट बुजmे । मेरो भित्री मनदेखि नै मिर्गौलाका विरामीका लागि केही गर्नु पर्छ भन्ने लाग्यो । मैले यहाका चिकित्सकहरुलाई मेरो मनको कुरा सुनाए । आर्थिक अवस्था कमजोर भएका मिर्गौला विरामीहरुका लागि केही गरौ न भन्ने प्रस्ताव थुप्रै पटक राखे । तर कसैले पनि ध्यान दिएनन । म निरास नै भएकी थिए केही दिन त । एक दिन पशुपति नाथको दर्शन गर्न जादा पशुपति विकाष कोषका सदस्य सचिवलाई भने, मलाई आज नजिकबाट पशुपति नाथको दर्शन गराइदिनुस न ? प्राथना गर्नु छ । उनले मेरो आग्रह स्विकारेर नजिकबाट दर्शन गर्ने व्यवस्था मिलाइदिए । मैले पशुपति नाथसँंग भने, हे भगवान मलाई नेपालमा मसँंग मिलेर मिर्गौला विरामीका लागि काम गर्ने व्यक्ति पठाइदिनुहोस । दर्शन म घर फर्के । घर फर्केपछि ल्यापटप खोले त मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको इमेल आइरहेको थियो । उनले भनेका थिए, म मिर्गौला विरामीको उपचारकालागि तपाईसँंग मिलेर काम गर्न तयार छु ।
मैले इन्टरनेट मार्फत आफुले गर्न चाहेको कामका बिषयमा जानकारी गराएकी थिए । त्यही जानकारी थाहा पाएपछि डा. पुकारले मलाई इमेल लेख्नु भएको रहेछ । त्यो दिन म यति धेरै खुशी भएकी त्यसको बर्णन नै गर्न सक्दिन । पशुपति नाथले नै मिर्गौला रोगीको उपचारका लागि डा. पुकारलाई पठाइदिएको लाग्यो । म भन्छु, उहाँ पशुपति नाथका बरदान हो । पैसाको पछि मात्र दगुर्ने जमानामा बेलायतको सुविधा सम्पन्न फ्रिम्यान हस्पिटल छोडेर सिप लिएर स्वदेश फर्कनु आफैमा ठूलो त्याग हो । उहाँ मिर्गौला प्रत्यारोपणविज्ञ नभएर कलेजो प्रत्यारोपण विज्ञ पनि हुनुहुन्छ । अब नेपालमै कलेजो प्रत्यारोपणको व्यवस्था पनि हुनु पर्छ । यसका लागि स्वास्थ्य सचिव ज्युले कानून परिवर्तन गर्नु परेपनि गर्नु पर्छ । सेवा सञ्चालन गर्नु पर्छ । डा. पुकार जस्ता राम्रो डाक्टर पाउनु हाम्रोलागि बरदान हो । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र पाउनु हाम्रोलागि बरदान हो । पूर्व मुख्य सचिव लिलामणी पौडेल पाउनु बरदान हो । डा. मिश्र, पौडेल र डा. पुकारसँंग काम गर्दा मलाई सरकारप्रति आस्था बढेको छ । म र डा. पुकार सहित डा. कुलचन्द्र गौतम, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. बिमल थापा, शुदर्शन राज पाण्डे, नविना श्रेष्ठ सहितको आरोग्य प्रतिष्ठानले विपन्न मिर्गौला विरामीका लागि केही गर्न सकेका छौ । सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना भएपछि सबभन्दा पहिले अंग प्रत्यारोपण गर्नु अघि अंगदाता र ग्रहणकर्ताबिच म्याच हुन्छ की हुदैन भनेर गरिने देशकै पहिलो एचएलए ल्याव स्थापना गर्यौ । अहिलेसम्म यहाँ हजारौजनाको एचएलए परिक्षण भइसकेको छ ।
त्यसको स्थापनाले ब्लड म्याचिडका लागि भारत जानु पर्ने बाध्यता हट्यो । सस्तोमा यही सेवा पाए । प्रतिष्ठानले सस्तोमा डयलासिस सेवा पनि दिन थाल्यौ । जनरल प्याथोलोजी ल्यावले सस्तोमा विपन्न विरामीलाई सेवा दिइरहेका छौ । प्रत्यारोपण गरेका व्यक्तिहरुलाई आय आर्जन मूलक तालिम समेत दिने गरेका छौ । मिर्गौला रोग लाग्न नदिन चेतनामूलक कार्यक्रमलाई पनि सँंगसँगै अगाडि बढाएका छौ । अंग प्रत्यारोपितहरुले सेवन गर्नु पर्ने औषधिको मात्रा कति छ भनेर जाच गर्ने सेवा भर्खरौ आरोग्यले भित्र्याएको छ । यसबाट सयौं मिर्गौला प्रत्यारोपीले जाचका लागि विदेश जानु पर्दैन । मस्तिष्क मृत्यु भएका सयौं व्यक्तिका अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा अंग दान दिने र प्रयारोपण गर्नेको कमि छैन । मस्तिष्क मृत्यु सम्बन्धी कानून बनेर पास भइसकेको छ । यो ठूलो सफलता हो । अहिले सरकारले डाइलासिस सेवा र प्रत्यारोपण निशुल्क गरेको छ । यो राम्रो काम हो । म आफुलाई भाग्यमानी ठान्छु , यस किसिमको पुण्य कार्यमा हात हाल्न पाए । मिर्गौला विरामीलाई अझै गाहो छ । प्रत्यारोपणपछि औषधि सेवन गर्न समस्या छ । सरकारले कसरी हुन्छ विपन्नका लागि कम शुल्कमा औषधि दिन सकिन्छ यसमा पहल गर्नु पर्छ । म पनि यस काममा लाग्न तयार छु । अन्धकारलाई सराप्नु भन्दा आफैले बत्ती बाल्नु पर्छ । आरोग्यले यो क्षेत्रमा केही गरेर देखाएको छ । व्यक्तिले सक्छ भने सरकारले नसक्ने कुरै भएन । पद र शक्तिको प्रयोग शही किसिमले सही ठाउमा प्रयोग गर्नु पर्छ । पापले कमाएको पद र प्रतिष्ठा क्षणिक हुन्छ । सच्चा हृदयले गरेको सेवा दीर्घकालिन र सफल हुन्छ । मिर्गौला विरामीका लागि हृयददेखि नै सेवामा जुटौ । ( आनी प्रख्यात गायिका तथा आरोग्य प्रतिष्ठानकी अध्यक्ष हुन )
Leave a Reply