हेल्थ टुडे,
काठमाडौं, २० भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १७ गते गरेको स्वास्थ्य सेवाका कर्मचारीको सरुवा प्रदेश नम्बर ७ ले नमान्ने लिखित चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत चौथो तहदेखिमाथिका पदमा कार्यरत स्वास्थ्य सेवाका एक हजार ६ सय ३० जना कर्मचारीको सरुवा गरेको थियो । प्रदेश नम्बर ७ समाजिक विकाश मन्त्रालय मातहत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य मन्त्रालयले गरेको सरुवा कार्यन्यन भए प्रदेशका जनतालाई स्वास्थ्य सेवा दिनै नसकिने अवस्था रहेकाले सरुवा मान्य नभएको पत्र स्वास्थ्य सेवा विभागलाई बुधबार पठाएका छन । डा.अवस्थीले सरुवा गरिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रदेश नम्बर ७ बाट अन्यत्र जान रमाना नदिइने पत्रमा प्रष्ट पारेका छन ।
प्रदेश नम्बर ७ मा चौथोदेखि एघारौ तहसम्मका १०० स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएकाले जनतालाई स्वास्थ्य सेवा दिन कठिन भइरहेको बेला स्वास्थ्य मन्त्रालयले हचुवाको भरमा प्रदेश मातहत काम गरिरहेका स्वास्थ्यकर्मीलाई बाहिर सरुवा गरेको र प्रदेश भित्र एकदमै न्यून स्वास्थ्यकर्मी सरुवा गरेर पठाएकोले प्रदेश नम्बर ७ भित्र स्वास्थ्य सेवा सञ्चालन गर्नै नसकिने अवस्थाका कारण रिक्त पदहरु पूर्ति नहुदासम्म स्वास्थ्य मन्त्रालयले गरेको सरुवा कार्यन्वयन गर्न नसकिने डा. अवस्थीले उल्लेख गरेका छन् । डा. अवस्थीले प्रदेश मातहतका कुनै पनि स्वास्थ्य संस्थाले सरुवा भएर जाने स्वास्थकर्मीलाई रमाना नदिन सबै मातहतका स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । रिक्त दरबन्दी भएको ठाउँमा सरुवा भएर आउने स्वास्थ्यकर्मीलाई भने स्वास्थ्य निर्देशनालयमा सम्पर्क राख्न उनले सूचित गरेका छन् ।
Leave a Reply