लुम्बिनी,११ फागुन । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालय तीन महिनादेखि औषधिविहीन भएको छ । अस्पताल औषधिबिहिन भएपछि बिरामीहरु समस्यामा परेका छन् । निःशुल्क उपचार र औषधि पाउने आशामा उक्त अस्पतालमा दैनिक औसत ७० बिरामी आउने गरेका छन् ।
स्वास्थ्य जाँच गर्न आउने बिरामीहरू औषधि नपाएपछि निराश भएर फर्कने गरेका छन् । अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिननाथ तिवारीले अस्पतालबाट २३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अहिले सबै सकिएको जानकारी दिए । विगतमा केन्द्र सरकारअन्तर्गत आयुर्वेद अस्पतालमा औषधि आउने गरेको थियो । चालू आर्थिक वर्षमा पहिले स्थानीय तहमार्फत र पछिल्लो समय प्रदेश सरकारबाट औषधि आउने भनिए पनि औषधि आउने अझै टुंगो छैन ।
चालू आर्थिक वर्षमा सो अस्पतालमा तीन लाखबराबरको औषधि आएको थियो । तीन लाखको औषधिले बढीमा ५० दिनलाई काम चलाउन सकिने अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । कम्तीमा २० लाख बराबरको औषधि भए एक वर्षलाई काम चलाउन सकिने उनीहरूको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाबाट तीन लाखबराबरको औषधि खरिद भएको थियो । सो औषधि तीन महिनाअगाडि नै सकिएको छ । औषधि खरिदका लागि पटक–पटक उपमहानगरपालिका तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्दा कुनै सुनुवाइ नभएको अस्पताल स्रोतले जनाएको छ ।
धेरै ठाउँमा जचाउँदा पनि निको नभएका बिरामीसमेत उक्त अस्पतालमा आउने गरेको भएपनि पछिल्लोपटक औषधि उपलब्ध गराउन नसक्दा अप्ठ्यारो भएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधि अभावमात्र होइन् अस्पतालमा बेडको समेत अभाव छ ।
Leave a Reply