हेल्थ टुडे,
बुटवल,३ बैशाखः जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको छ । कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारबाट निःशुल्क लिएर बिरामीलाई बेचेको हो । १५ वर्षमुनि उमेरका व्यक्तिलाई ४ र १५ वर्षमाथिकालाई ५ वटा सुई लगाउनुपर्छ । अस्पतालले प्रतिसुई सय रुपैयाँ लिने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण खनालले स्विकारे । ‘अस्पताल विकास समितिबाट नियुक्त भएका २ सय ५० कर्मचारी छन् । उनीहरूको खर्च धान्न प्रतिसुई सय रुपैयाँ सेवाशुल्कको नाममा लिएका हौँ,’ डा.खनालले भने ।
अस्पतालले एउटा बिरामीबाट ४ देखि ५ सयसम्म असुल गरेको छ । केही समयअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले अस्पतालमा अनुगमन गरेको थियो । रेबिजविरुद्धको निःशुल्क सुईमा समेत रकम उठाउने गरेको अस्पतालले स्विकारेको अनुगमन टोलीका प्रमुख तथा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए । ‘विकास समितिबाट नियुक्त भएका कर्मचारीले सेवा–सुविधाका लागि भन्दै औषधि बिक्री गरेको अस्पतालले स्विकारेको छ, तर कर्मचारीलाई तलब खुवाउन निःशुल्क औषधिको व्यापार गर्न मिल्दैन,’ पौडेलले भने,‘हामीले तत्काल सच्याउन निर्देशन दिएका छौँ, स्थानीय तह र प्रदेशले पनि चासो दिनुपर्छ ।’ तर, सुपरिटेन्डेन्ट डा.खनाल भने सेवाबापतको रकम भएकाले नलिने निर्णय गर्न नसकिने बताउँछन् ।
अस्पतालको पदेन अध्यक्षसमेत रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश चापागाईंले भने निःशुल्क औषधि बेचेकोबारे आफू जानकार नभएको बताएका छन् । रकम नलिने निर्णय गर्न अस्पताल प्रशासन सकारात्मक भए आफू पनि तयार रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमै मलेरियाको निःशुल्क औषधि दुई वर्षदेखि अस्पतालकै भण्डारमा रहेको सार्वजनिक भएको छ ।
औषधिको म्याद सकिन एक महिना मात्रै बाँकी छ । तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण खनाल भने दुई वर्षदेखि मलेरियाको औषधि भण्डारमा थन्किएकोबारे आफू अनभिज्ञ रहेको बताउँछन् ।‘अहिले टोली आएर सोधपुछ गरेपछि मात्रै थाहा भयो, तर औषधिको म्याद जान जम्मा एक महिना बाँकी रहेछ,’ उनले भने,‘अहिले निःशुल्क बाँड्न थालेका छौँ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले अस्पतालको गम्भीर लापरबाही भेटिएको बताए । मेडिकल सुपरिटेन्डेन्टले नै थाहा छैन भन्नु गैरजिम्मेवार जवाफ भएको उनको भनाइ छ ।(नयाँ पत्रिका दैनिकबाट)
Leave a Reply