हेल्थ टुडे,
काठमाडौं, २९ असार : स्वदेशी बजारमा करिव तीन दर्जन औषधि कम्पनी सञ्चालनको तयारीमा रहेका छन् । यी औषधि कम्पनी सञ्चालन गर्न १५ अर्ब रुपैयाँ लगानी हुनेछ । नेपालमा अहिलेसम्म ५३ वटा औषधि कम्पनीले विभिन्न किसिमका औषधि उत्पादन गर्दैआइरहेका छन् । पछिल्ला दिनमा स्वदेशी औषधि कम्पनीप्रति आम जनताको विश्वास बढ्दै गएपछि औषधि कम्पनी थपिने क्रम बढ्न थालेको हो । नेपाल औषधि उत्पादक संघका अनुसार स्वदेशी औषधि कम्पनीहरुले करिव ३ सय प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छन् । संघका अध्यक्ष दीपक दाहालका अनुसार नेपाली बजारमा बर्षमा करिव ४५ अर्ब रुपैया बराबरको औषधि बिक्रिबितरण हुने गरेको छ । त्यसमध्ये २० अर्व अर्थात करिव ४५ प्रतिसत औषधि स्वदेशमा उत्पादन हुने गरेको छ भने बाकी २५ अर्ब रुपैया बराबरको औषधि भारत लगायत बिदेशबाट आयात गर्नु परिरहेको छ । कम्पनीको संख्या थपिएसँगै घरेलु बजारमा औषधीको आपूर्ति बढेर अस्वस्थ्य प्रतिस्पर्धा समेत बढ्ने अवस्था छ । आधा दर्जन भन्दा बढी औषधी कम्पनी संचलनमा रहेको चितवनमा केभा, रोयल, डिभाइन, एलेक्जर, म्याड्रिट, वेभ, ओमेगा, लाइभ केयर(ह्युमन डिभिजन) फर्मास्युटिकल्स निर्माणाधीन छन् । थप एउटा कम्पनी दर्ताको प्रकृयामा रहेको छ ।
यसैगरी रुपन्देहीमा रुपन्देहीमा लाइका, एटम, सिटिजन, ग्रेस, डेनियल फर्मास्युटिकल्स कम्पनी निर्माणाधीन अवस्थामा छन् । १६ वटा औषधी उद्योग संचालनमा रहेको वीरगंजमा ग्लोबल, जिओ, प्राइम, एभरेष्ट प्यारेन्टल, निकोन फर्मास्युटिकल्स, काठमाण्डौंमा एरो,आरोन,एकर्ड,सोपान, कास्कीमा पोखरा फर्मास्युटिकल्स र बाँकेमा आइडियल फर्मास्युटिकल्स उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । निर्माणाधीन २८ उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी हुँदैछ । यो मध्ये गैर आवासीय नेपालीको लगानीमा निर्माणाधीन ओमेगा श्री,वीरगंजमा निर्माणाधीन एभरेष्ट प्यारेन्टल उद्योगमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर नेपालमै गुणस्तरीय औषधी उत्पादन हुन थालेको अवस्थालाई मध्यनजर गर्दै आत्मनिर्भर भइसकेका औषधीको आयातमा प्रतिबन्ध लगाउने तयारी ०७४ मै शुरू भएपनि कार्यान्वयनमा अएको छैन । सरकार अनिर्णयको बन्दी भइदिंदा निर्णय कार्यान्वयनमा आउन नसकेको अध्यक्ष दाहालको गुनासो छ । आयात निरुत्साहित गर्न २०७४ जेठमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३६ प्रकारका अधारभूत औषधीको आयातमा प्रतिबन्ध लगाउने योजना अगाडि सारेका थिए । तर योजना कार्यान्वयनमा भने आउन सकेन । एकै खाले औषधी उत्पादन गर्ने कम्पनीको संख्या थपिंदै जाँदा बजारमा टिक्नको लागी गुणस्तरमा सम्झौता र घाँटी रेट्ने गरी मूल्यमा अस्वस्थ्य प्रतिस्पर्धा हुने संभावना बढ्दै गएको छ ।
स्वदेशी औषधिको बजारमा औषधीको माग र उपभोगको वृद्धि दर आकर्षक छ । संघका अध्यक्ष दाहालका अनुसार यसवर्ष १७ देखि २० प्रतिशतले औषधीको माग वृद्धि हुने अनुमान छ । स्वदेशी औषधिको माग बढ्न थालेपछि नयाँ औषधि कम्पनीको संख्या पनि बढ्दै जान थालेको दाहालको भनाई छ ।
Leave a Reply