हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : औषधि उत्पादन गर्दै आएको डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासनसँगै डिभाइन हेल्थकेयरको पूँजी संरचना थप विस्तार हुने कम्पनीले जनाएको छ।
वि.सं. २०७४ असोज १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर चितवनको भरतपुर महानगरपालिका–१६, विजयनगरमा अवस्थित औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक दर्ता तथा स्वीकृति लिएर मानव स्वास्थ्यमा प्रयोग हुने विभिन्न औषधि उत्पादन तथा बजारीकरण गर्दै आएको छ।
कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण भइरहेको छ। करिब एक बिघा क्षेत्रफलमा फैलिएको डिभाइन हेल्थकेयर पछिल्ला तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाटै व्यवसाय सञ्चालन हुँदै आएको छ।
कम्पनीको औषधि बिक्री–वितरणका लागि देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ। यसले नेपाली बजारमा कम्पनीको पहुँच विस्तार भएको देखाउँछ।आईपीओबाट प्राप्त हुने रकमलाई कम्पनीले नयाँ प्रविधि विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी र सुरक्षित बनाउन प्रयोग गर्ने योजना बनाएको छ। साथै, अनुसन्धान तथा विकास समेत प्राथमिकतामा राखेर औषधि उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य छ। सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढेसँगै डिभाइन हेल्थकेयर नेपालको पूँजी बजारमा प्रवेश गर्ने औषधि उत्पादक कम्पनीका रूपमा अगाडि आउने भएको छ।







Leave a Reply