हेल्थ टुडे,
काठमाडौं, १८ भदौ : भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये काठमाडौंका तीन प्रमुख अस्पतालमा ४६ जना उपचाररत रहेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उद्धार गरी ल्याइएका घाइतेमध्ये अधिकांश उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर अवस्थाका केही बिरामी अझै उपचाररत छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३० जना
टिचिङ अस्पतालमा रसुवा बाढीपहिरोमा परी घाइते भएका कुल ७७ जनालाई उपचारका लागि ल्याइएको थियो । तीमध्ये हाल ३० जना उपचाररत छन् । ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । चार जना अन्य अवस्थामा रहेका छन् ।
अस्पतालका अनुसार उपचाररत घाइतेहरूमा एचडीयू, न्यूरोसर्जरी, अर्थोपेडिक, आईसीयू, प्लास्टिक सर्जरी तथा बर्न वार्डमा उपचार गराइरहेका छन् । केही बिरामीलाई अब्जर्भेसनमा राखिएको छ ।
उपचारका क्रममा मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । बाढीपहिरोमा परी घाइते भएका बिरामीको उपचार तथा स्वास्थ्य अवस्थाको निगरानी निरन्तर भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
ट्रमा सेन्टरमा १२ जना उपचाररत
राष्ट्रिय ट्रमा सेन्टरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका ५० जनामध्ये ३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल १२ जना उपचाररत छन् ।
उपचाररत १२ जनामध्ये तीन जना उच्च निगरानी कक्ष (एचडीयू)मा छन् भने नौ जना आपत्कालीन कक्ष तथा अन्य वार्डमा उपचाररत छन् । एक जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको सेन्टरले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूमा टाउको, छाती, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेर आवश्यक उपचार भइरहेको अस्पतालले जनाएको छ ।
वीर अस्पतालमा चार जना
वीर अस्पतालमा रसुवा बाढीपहिरोबाट उद्धार गरी ल्याइएका १९ जनामध्ये हाल चार जना उपचाररत छन् । बाँकी बिरामी उपचारपछि घर फर्किसकेका छन् ।
तीनवटै अस्पतालका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गरी अवस्थाअनुसार उपचार र विशेष निगरानीको व्यवस्था गरिएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो । गम्भीर घाइतेहरूको उपचार अझै जारी रहेकाले सम्बन्धित अस्पतालहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई प्राथमिकताका साथ निगरानी गरिरहेका छन् ।







Leave a Reply