हेल्थ टुडे,
काठमाडौं, ४ साउन : भारतको बजार मूल्यलाई आधार बनाएर नेपालमा औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव अघि बढाइएको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा सात वर्षपछि बसेको औषधि मूल्य अनुगमन समितिको बैठकले भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (ल्एएब्) ले निर्धारण गर्ने मूल्यलाई आधार बनाएर नेपालमा औषधिको मूल्य समायोजन गर्न सिफारिस गरेको हो। समितिको प्रस्ताव अब औषधि मूल्य निर्धारण समिति, औषधि परामर्श परिषद् हुँदै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ।
बैठकमा औषधि व्यवस्था विभागले भारतमा घटेका औषधिको मूल्य नेपालमा पनि समायोजन गर्ने प्रस्ताव राखेको थियो। सोहीअनुसार सरकारले मूल्य निर्धारण गरेका ११७ प्रकारका औषधिमध्ये पहिलो चरणमा बजारमा अभाव रहेका ७०–७५ प्रकारका औषधिको नयाँ मूल्य निर्धारण गर्ने सहमति भएको छ। साथै, भविष्यमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार हरेक वर्ष औषधिको मूल्य पुनरावलोकन गर्ने व्यवस्था लागू गर्ने विषयमा पनि छलफल भएको छ।
नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालले लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा उत्पादन र आयात प्रभावित भएको बताए। उनका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिनलगायत अत्यावश्यक औषधि पुरानो मूल्यमा उत्पादन वा आयात गर्न नसक्दा बजारमा अभाव भएको हो। नेपालमा करिब ९० प्रतिशत औषधि भारतबाट आयात हुने भएकाले भारतीय मूल्य प्रणालीलाई आधार बनाउनु उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको छ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले पनि पुरानो मूल्यसूचीका कारण सरकारी अस्पतालमा क्यान्सरका अत्यावश्यक औषधिको अभाव भएको भन्दै तत्काल मूल्य समायोजन आवश्यक रहेको बताए। मूल्य यथार्थपरक बनाएपछि औषधिको आपूर्ति सहज हुने, सरकारी अस्पतालमा औषधि उपलब्धता बढ्ने र बिरामीले औषधि अभावको समस्या भोग्न नपर्ने विश्वास सरोकारवालाले व्यक्त गरेका छन । औषधिको मूल्यका विषयमा लामो समयदेखि बहस हुदै आएको छ ।







Leave a Reply