हेल्थ टुडे
काठमाडौं, २२ असोज : विश्वभर करिब २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि समस्याबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार तीमध्ये झन्डै ३० प्रतिशत मानिस दक्षिण–पूर्वी एसिया क्षेत्रमा बसोबास गर्छन् । दृष्टि समस्याबाट प्रभावित विश्वको कुल जनसंख्याको झन्डै आधामा शल्यक्रिया वा चस्माको प्रयोगबाट समस्या समाधान गर्न सकिने अवस्था छ ।
विश्व दृष्टि दिवसको अवसरमा डब्लूएचओ दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न, समयमै दृष्टि परीक्षण गर्न र आवश्यक उपचारमा पहुँच बढाउन आग्रह गरेका छन् । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसले आँखा स्वास्थ्यको महत्त्वबारे सर्वसाधारण, नीतिनिर्माता र स्वास्थ्य सेवा प्रदायकलाई सचेत गराउने उद्देश्य राखेको छ ।
डब्लूएचओका अनुसार दक्षिण–पूर्वी एसिया क्षेत्रमा मोतिबिन्दु, चस्माको आवश्यकता भएर पनि प्रयोग नगर्नु तथा मधुमेहका कारण आँखाको पर्दामा हुने क्षति (डायबेटिक रेटिनोप्याथी) अन्धोपना तथा दृष्टि कमजोर हुने प्रमुख कारण हुन् । यी तीन समस्याले यस क्षेत्रका ९० प्रतिशतभन्दा बढी दृष्टि समस्या तथा अन्धोपनका घटनामा योगदान पु¥याएका छन् । सन् २०२१ मा विश्व स्वास्थ्य सभाबाट अनुमोदित लक्ष्यअनुसार सन् २०३० सम्म प्रभावकारी दृष्टि सुधार सेवा कभरेजमा ४० प्रतिशत बिन्दु र प्रभावकारी मोतिबिन्दु शल्यक्रिया कभरेजमा ३० प्रतिशत बिन्दुले वृद्धि गर्ने प्रतिबद्धता गरिएको छ । तर, हाल दक्षिण–पूर्वी एसियामा प्रभावकारी दृष्टि सुधार सेवा कभरेज २७.४ प्रतिशत र प्रभावकारी मोतिबिन्दु शल्यक्रिया कभरेज २६.४ प्रतिशत मात्र रहेको छ ।
त्यसैगरी, सन् २०३० सम्म मधुमेह भएका ८० प्रतिशत व्यक्तिको आँखाको पर्दामा हुने क्षतिको परीक्षण गर्ने र दृष्टि गुम्ने जोखिमयुक्त समस्या पहिचान भएका ८० प्रतिशतलाई उपचार प्रदान गर्ने लक्ष्य राखिएको छ ।
दक्षिण–पूर्वी एसिया क्षेत्रमा आँखा स्वास्थ्य सुधारका क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । डब्लूएचओका अनुसार टिमोर–लेस्तेको प्रमाणीकरणपछि यस क्षेत्रले अन्धोपनको प्रमुख संक्रामक कारण मानिने ट्रकोमालाई जनस्वास्थ्य समस्याका रूपमा उन्मूलन गरेको छ ।
बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्तेले दृष्टि समस्या न्यूनीकरणका लागि डब्लूएचओको ‘स्पेक्स २०३०’ पहललाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्न थालेका छन् । भुटान, श्रीलंका र माल्दिभ्सले यस पहलका सिद्धान्त समेटेर राष्ट्रिय आँखा स्वास्थ्य रणनीति विकास गरिरहेका छन् ।
सन् २०२५ मा भारतमा आयोजित क्षेत्रीय आँखा स्वास्थ्यसम्बन्धी बैठकमा थाइल्यान्ड, भुटान र भारतका अनुभवले प्रविधिमा आधारित परीक्षण तथा टेलिमेडिसिनको प्रयोगबाट मधुमेहका कारण हुने आँखाको क्षति पहिचान र उपचारमा सहयोग पुगेको देखाएका थिए ।
यद्यपि, यस क्षेत्रमा दृष्टि सुधार सेवाको आवश्यकता भएका करिब ४७ प्रतिशत मानिसले अझै आवश्यक सेवा पाउन सकेका छैनन् । विशेषगरी न्यून आय भएका परिवार, महिला तथा ज्येष्ठ नागरिकले आवश्यक परेको समयमा सुलभ मूल्यमा चस्मा तथा आँखा उपचार सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।
सरकारी सेवाको सीमित उपलब्धता, दक्ष आँखा स्वास्थ्यकर्मीको अभाव, उपचारमा लाग्ने व्यक्तिगत खर्च तथा भरपर्दो तथ्यांकको कमीले समस्या थप जटिल बनाएको डब्लूएचओले जनाएको छ । डब्लूएचओले आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सर्वसाधारणलाई आफ्नो दृष्टिबारे जानकारी लिन र समस्या देखिएमा समयमै स्वास्थ्य सेवा लिन प्रोत्साहित गरेको छ । नियमित दृष्टि परीक्षणले समस्या प्रारम्भिक चरणमै पहिचान गर्न र आवश्यक उपचार समयमै सुरु गर्न सहयोग पु¥याउँछ ।
दृष्टि परीक्षणका सामान्य विधिमध्ये दृश्य तीक्ष्णता परीक्षण (भिजुअल एक्युटी टेस्ट) एक हो । यसले निश्चित दूरीबाट अक्षर वा वस्तु कति स्पष्ट रूपमा देख्न सकिन्छ भन्ने मापन गर्छ । यसका लागि डब्लूएचओले ‘डब्लूएचओआइज’ नामक निःशुल्क मोबाइल एप उपलब्ध गराएको छ । स्मार्टफोन वा ट्याब्लेटको प्रयोग गरी घरमै आफ्नो दृश्य तीक्ष्णता जाँच गर्न यस एपले सहयोग गर्छ ।
तर, एपबाट गरिने स्वमूल्यांकनले आँखा स्वास्थ्य विशेषज्ञबाट गरिने पूर्ण परीक्षणको स्थान लिन नसक्ने डब्लूएचओले स्पष्ट पारेको छ । एपको नतिजा सामान्य देखिए पनि नियमित रूपमा आँखा स्वास्थ्यकर्मीसँग परीक्षण गराउनु महत्वपूर्ण हुन्छ ।







Leave a Reply