सन्ध्या घिमिरे
स्वास्थ्य विज्ञानको एक उदयमान क्षेत्र हो, औषधि विज्ञान । औषधि विज्ञानमा कम्तीमा एसईई ( एसएलसी) पछि तीन वर्षको डिप्लोमा इन् फार्मेसी अध्ययन पूरा गरी नेपाल फार्मेसी काउन्सिलबाट लिइने नाम दर्ता परीक्षा उत्तीर्ण गरेको जनशक्तिलाई फार्मेसी सहायक र चार वर्षको स्नातक अध्ययन गरी नेपाल फार्मेसी काउन्सिलबाट लिइने नाम दर्ता परीक्षा उत्तीर्ण गरेको जनशक्तिलाई फर्मासिस्ट भनिन्छ । सामान्यतया अन्तर्राष्ट्रिय मान्यताअनुसार स्वास्थ सेवामा हरेक रोगको उपचारमा थ्री पी (पेसेन्ट, फर्मासिस्ट एन्ड फिजिसियन) को त्रिकोणात्मक सम्बन्ध हुन्छ । एउटा मात्रको पनि शक्तिय सहभागितामा कमी भयो भने उपचारका लागि गरिएका सम्पूर्ण विधिहरू निरर्थक हुन्छन् । त्यसैले स्वास्थसेवामा अन्य स्वास्थकर्मीहरूजस्तै फार्मेसी जनशक्ति पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । रोग निको पार्नमा औषधिको मुख्य भूमिका हुन्छ र त्यही औषधिको प्रयोग गर्नुपर्ने कारणहरू, उक्त औषधि प्रयोगपश्चात् शरीरमा देखाउने प्रतिकूल असरहरू, औषधि सेवन गर्ने तरिका, औषधिको बनावट, सेवन गर्नुपर्ने उपयुक्त मात्रा, औषधिले काम गर्ने तरिका, औषधिको उपयुक्त नियन्त्रण तथा भण्डारण गर्ने तरिकाहरूको बारेमा राम्रो ज्ञान राख्ने संकाय फार्मेसी हो । उक्त संकाय अध्ययन गरेको जनशक्ति फार्मेसी सहायक र फर्मासिस्ट हो ।
नेपालमा फार्मेसी अध्ययनको भर्ना प्रक्रिया
डिप्लोमा इन् फार्मेसी तीन वर्षे कोर्स हो र भर्नाका लागि एसईई परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड र जीपीए २ अंक ल्याएको हुनुपर्छ । साथै यो कोर्समा सीटीईभीटीको पूर्ण छात्रवृत्तिको पनि व्यवस्था छ । एउटा कलेजमा ४० जना विद्यार्थीका लागि सिट निर्धारण गरिएको हुन्छ । त्यसमध्ये सीटीईभीटीको प्रवेश परीक्षामा छानिएका दुई जना र कलेजकै प्रवेश परीक्षामा उत्कृष्ट हुने एक जनालाई छात्रवृत्ति प्रदान गरिन्छ भने फार्मेसीमा स्नातक अध्ययन गर्नको लागि प्लस टु विज्ञान संकायबाट उत्तीर्ण गरी कम्तीमा ५०५ अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्छ । विश्वविद्यालयहरूको नियम अनुसार विभिन्न प्रकारका छात्रवृत्तिहरू पनि प्रदान गरिएका हुन्छन् । काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले मास्टर्स इन् फार्मेसी अध्यापन गराउँछन् । काठमाडौं विश्वविद्यालयबाट वार्षिक रूपमा २० जना, पोखराबाट १० जना र पूविमा १० जनाले फार्मेसीमा मास्टर्स गर्दै आएका छन् ।
नेपालमा फार्मेसी अध्ययनपछिको अवसर
नेपालमा फार्मेसी अध्ययन गरेकाहरूलाई अवसर नै अवसर रहेको छ । अध्ययनपछि जागिर खाने वा व्यक्तिगत रूपमा उद्यमशील बन्ने भन्ने कुरा आफूमा निर्भर रहने कुरा हो । फार्मेसी अध्ययन गरी काउन्सिलमा नाम दर्ता गराई परीक्षा उत्तीर्ण भएपछि दुवै बाटो खुला हुन्छ । अध्ययनपछि सरकारी स्वास्थसंस्थाजस्तै औषधि व्यवस्था विभाग, सरकारी अस्पताल, सरकारी मेडिकल स्टोर, औषधि प्रयोगशाला, निजी, औद्योगिक क्षेत्र र आफ्नै व्यवसाय गर्नेका लागि आफ्नै फार्मेसी खुल्न सक्ने अधिकार फार्मेसी जनशक्तिले पाउँछ । त्यसैले फार्मेसी अध्ययनमा आज भोलि एकदमै आकर्षण रहेको छ । डिप्लोमा फार्मेसी अध्ययन गरेका विद्यार्थीले सरकारी जागिर गर्न चाहेमा राजपत्र अनंकित प्रथम श्रेणी – नायब सुब्बा सरह) मा प्रतिस्पर्धा गर्न पाउँछन् । लोक सेवा आयोगले औषधि निरीक्षक, फार्मेसी सहायक, फार्मेसी सुपरभाइजरजस्ता पदहरूमा दरखास्त माग्ने गर्दछ । लोकसेवा आयोगले माघ अन्तिम बुधबार उक्त पदको लागि दरखास्त आह्वान गर्दछ । पछिल्लो समय सरकारले अस्पतालमा अनिवार्य आफ्नै औषधि पसल हुनुपर्ने नियम बनाएसँगै फार्मेसी जनशक्तिहरूका लागि थप अवसर सिर्जना भएको छ ।
स्नातक पास गरेकाहरूका लागि भने नेपाल सरकारको फार्मेसी अधिकृतका रूपमा सेवा प्रवेश गर्ने अवसर खुल्छ । लोकसेवा आयोगले उक्त पदको लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशित गर्दछ । साथै निजी क्षेत्रमा जागिर गर्न इच्छुक जनशक्तिले औषधि बजारीकरण, औषधि कम्पनीमा पनि जागिर गर्ने अवसर पाइन्छ । नेपालमा औषधि उद्योग बढेसँगै फार्मेसी अध्ययन गर्नेलाई अवसर धेरै बढेको छ । औषधि उद्योगमा नयाँ प्रकारका जेनेरिक औषधिहको विकास गर्ने, औषधिको नयाँ बनावट विकास गर्न जस्तै ट्याब्लेट, मल्हम, झोल इत्यादिमा चाहना राख्ने जनशक्तिहरूले औषधि उद्योगको क्वाइलिटी कन्ट्रोल, प्रोडक्सट हाउस, रिसर्च एण्ड डेभलपमेन्टमा जागिर गर्ने अवसर पाउँछन् ।
त्यस्तैगरी अहिले नेपाल सरकारको नियमअनुसार प्रत्येक अस्पतालले आफ्नै फार्मेसी राख्नुपर्ने व्यवस्था गरेपछि फार्मेसी जनशक्तिलाई अझ अवसर बढेको छ । नेपाल सरकार स्वास्थ मन्त्रालयको तथ्यांक हेर्ने हो भने नेपालमा जम्मा एक सय १२ सरकारी स्वास्थसेवा दिने अस्पतालमध्ये ६० वटाको आफ्नै फार्मेसी सुरु भइसकेको छ भने ५२ वटाको सञ्चालन प्रक्रियामा रहेको छ । त्यसैले फार्मेसी जनशक्तिको लागि राम्रो अवसर हो ।
विभिन्न गैरसरकारी विकास साझेदार संस्थाहरूमा पनि फार्मेसी जनशक्तिले अवसर पाउँदै आइरहेको छ । विश्व स्वास्थ संगठन, सेभ द चिल्ड्रेन, न्याय हेल्थ नेपाल तथा अन्य साझेदार संस्थाहरूले फार्मेसी जनशक्तिलाई स्वास्थ सेवा विकासको लागि अवसर दिँदै आइरहेका छन् । न्याय हेल्थ नेपालले अछाम र दोलखा जिल्लामा निजी (सरकारी साझेदारी अवधारणा अनुरूप सम्पूर्ण प्राथमिक स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा दिँदै आइरहेको छ । जसमध्ये निःशुल्क औषधि सेवा पनि एक महत्वपूर्ण अंग हो । जसअन्तर्गत अस्पतालमा भएको फर्मुलरीअनुसारका सम्पूर्ण औषधिहरू बिरामीलाई पूर्णतया निःशुल्क वितरण गरिन्छ र यसका लागि फार्मेसी जनशक्ति पनि व्यवस्था गरेको छ ।
नेपालमा फार्मेसी सेवा, फार्मेसी जनशक्ति र अबको आवश्यकता
नेपालमा फार्मेसी सेवाप्रतिको जनचेतना तथा सरकारी स्तरबाट निष्क्रियता ठोस नीति र नियामक निकायको ठोस योजनाको कमीले गर्दा फार्मेसी सेवाको भूमिका नेपालको स्वास्थसेवामा त्यति धेरै प्रभावकारी देखिँदैन । साथसाथै सम्बन्धित निकायहरू औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, स्वास्थ्य मन्त्रालय, उपभोक्ता मञ्च, फर्मासिस्टहरू आदि सबैले फार्मेसी पेसाको मर्यादालाई बुझेर काम गरिदिएमा फार्मेसी क्षेत्रको विकास सम्भव छ । नेपालमा फार्मेसी ऐनलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गरी बिना दर्ता खुलेका तथा फार्मेसी जनशक्ति बिना खुलेका औषधि पसलहरूलाई सरकारी नियमअन्तर्गत ल्याएर साथै सरकारीस्तरमा विभिन्न जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, केन्द्रीय अस्पताल, औषधि व्यवस्था विभाग, क्षेत्रीय स्वास्थ निर्देशनालय तथा संघीयतामा हुने सम्पूर्ण स्वास्थ्य संरचनाहरूमा अनिवार्य फार्मेसी जनशक्तिको पद सिर्जना गरी सरकारी स्तरबाट फार्मेसी जनशक्ति खपत गराउने हो भने मात्र नेपालमा स्वास्थ सेवाको त्रिकोणात्मक सम्बन्ध (पेसेन्ट, फर्मासिस्ट एन्ड फिजिसियन) जोडिन्छ होइन भने अझै पनि नेपाली जनताले गुणस्तरीय परामर्श, गुणस्तरीय औषधि सेवन तरिकाका साथै औषधिको अप्रभावकारी ढंगले प्रयोग गरेकै भरमा आफ्नो स्वास्थलाई जोखिममै राख्नुपर्ने बाध्यता एकातिर हुनेछ भने फार्मेसीमा अब्बल जनशक्ति देशमा उपयुक्त अवसर नपाएर बिदेसिनुको बाध्यता रहिरहनेछ ।
Leave a Reply