डा. विशेष पौड्याल
पछिल्ला वर्षमा नेपालमा पनि रगतसम्बन्धी रोगका बिरामी बढिरहेको पाइएको छ । तर, अधिकांश बिरामी विशेषज्ञ डाक्टरको सल्लाह नै नपाएर वर्षौंदेखि रोग पालेर बस्न बाध्य छन् । केही बिरामी गलत उपचारको सिकार पनि भइरहेका छन् । बिरामीलाई सही विशेषज्ञकहाँ रिफर गर्ने चलन नभएकाले त्यसको प्रत्यक्ष मार बिरामीले खेप्नु परिरहेको छ । हाम्रो देशमा अत्यधिक मात्रामा देखिने रगतका रोगहरूमध्ये आइरन र भिटामिनको कमीले हुने रक्तअल्पता, शरीरमा रगत उत्पादन गर्न नसक्ने अवस्था, प्लेटलेटको कमी हुने समस्या र रगतको क्यान्सरहरू हुन् । जनमानसमा रगतका रोगहरूको उपचार नेपालमा हुँदैन भन्ने भ्रम छ । तर त्यसो होइन । स्वदेशमै अधिकांश रगतसम्बन्धी रोगहरूको उपचार गर्न सकिन्छ ।
१.आइरनको कमीले हुने रक्तअल्पता
शरीरमा आइरनको मात्रा कम भएमा यस किसिमको रक्तअल्पता हुने गर्दछ । आइरन शरीरमा कम हुनेबित्तिकै हेमोग्लोबिन बन्ने प्रक्रियामा असर गर्दछ । हेमोग्लोबिनले नै हाम्रो शरीरमा अक्सिजन ओसारपसार गर्ने काम गर्दछ । यसरी अक्सिजन नै कम भए पछि शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र फलस्वरूप बिरामीको मुटुको ढुकढुक बढ्ने थकान हुने, कमजोर हुने गर्दछ । बच्चा अवस्थामा आमाको दूध धेरै समयसम्म खुवाएमा, युुवतीहरूमा महिनावारीमा धेरै रगत बगेमा त्यस्तै वयस्कहरूमा र बूढाबूढीमा शरीरको कुनै पनि भागबाट रगत बगिरहेमा यस किसिमको रक्तअल्पता हुने गर्दछ । आइरनको कमीबाट हुने रक्तअल्पता रोग नभई रोगको लक्षणमात्र हो । आइरन चक्की खानुभन्दा अगाडि कसरी बिरामीलाई रक्तअल्पता भयो भनेर पत्ता लगाउनु जरुरी छ ।
२. भिटामिन बी १२ को कमीले हुने रक्तअल्पता
मुख्यतः शाकाहारी खाना सेवन गर्ने व्यक्तिमा भिटामिन बी१२ को कमीले गर्दा यस किसिमको रक्तअल्पता देखिन्छ । त्यस्तैगरी सागसब्जी नखाने, रक्सी धेरै सेवन गर्ने र छारे रोग र बाथको रोगमा सेवन गरिने कुनै–कुनै औषधिबाट पनि यो रोग देखिन्छ । उपचार गर्दा यस किसिमको रक्तअल्पता निर्मूल हुने गर्दछ ।
३. एप्लास्टिक एनिमिया
यस रोगमा बोनम्यारोले नै शरीरमा चाहिने जति रगत बनाउन सक्दैन । फलस्वरूप रातो रगत (आरबीसी) र सेतो रगत (डब्लूबीसी) र प्लेटलेटको कमी हुन्छ । रातो रगत कम हुँदा थकान हुने, मुटुको धड्कन बढ्ने र सास फेर्न गाह्रो हुने गर्दछ भने सेतो रगत कम भएमा शरीरमा विभिन्न कीटाणुहरूको संक्रमण हुने गर्दछ र त्यस्तै प्लेटलेट कम भएमा शरीरको विभिन्न भागमा नीलो डाम र भित्री भागमा रक्तस्राव हुने गर्दछ । यस रोगको उमेरअनुसार बोनम्यारो प्रत्यारोपण वा औषधिको सेवनले उपचार गरिन्छ ।
४. प्लेटलेट कम हुने रोग
प्लेटलेट कम हुने रोग बढी जसो महिलामा धेरै देखिन्छ । यस रोग बाथरोग लागेको व्यक्तिमा, प्लेटलेट कम गर्ने औषधिको सेवा सेवन गरेमा, भाइरल इन्फेक्सन भएमा पनि देखिन्छ । तर धेरै जस्तो व्यक्तिमा के कारणले यो रोग भयो भन्ने कुरा पत्ता लगाउन सकिन्न । यस रोगमा प्लेटलेट मात्रा कम हुने तर रातो रगत र सेतो रगत नर्मm लेवलमा नै रहने गर्दछ । शरीरमा नीलो डाम आउने, नाक, गिजाबाट रगत वग्ने, महिनावारीका समयमा धेरै रगत बग्ने यस रोगका मुख्य लक्ष्मण हुन् । यसको उपचार राम्ररी गरेमा निको हुने गर्दछ ।
५. रगतको क्यान्सर
रगतको क्यान्सरहरू विभिन्न किसिमका हुन्छन् । सबै रगतका क्यान्सरहरू भयावह हुँदैनन् भन्ने सुनिन्छ यो सत्य होइन । सबै रगत क्यान्सरलाई बोन म्यारो प्रत्यारोपण नै गर्नुपर्दैन । सबै रगत क्यान्सरहरू थाहा पाउनेबित्तिकै उपचार गरिहाल्नुपर्ने पनि हुँदैन । शरीरमा गिर्खाहरू आउने, रगतको कमी हुने, संक्रमण भइरहने, शरीरमा नीलो डाम आउने, दाँत, मुख, गिजाबाट रगत बग्ने, ढाड दुख्ने, फियो ठूलो हुँदै जाने र हड्डी दुख्ने रगत क्यान्सरका लक्षण हुन सक्छन् । के कस्तो किसिमको रगतको क्यान्सर हो भन्ने पत्ता लगाएपछि मात्र उपचार गर्नुपर्दछ । यसरी हामी सबै किसिमका रगतका रोगहरूको उपचार गर्ने गर्दछौं । रगतको रोगको उपचारको लागि अब विदेश नै जान नपर्ने कुराको पनि हामी अवगत गराउन चाहन्छौं ।
Leave a Reply