धेरै मानिसहरू खुट्टा (खासगरी पैंताला र कुर्कुच्चा) फुट्ने समस्याबाट पीडित छन् । माटोमा काम गर्ने, बिनाजुत्ताचप्पल हिँड्ने वा लगाए पनि खुट्टाको नियमित सरसफाइको कमीका कारण यस्तो हुन्छ । तर कसैकसैलाई सहरबजारमा बिनाकाम बसे पनि वा खुट्टामा हेरचाह गरे पनि खुट्टा फुट्ने समस्या भइराखेको हुन्छ । यो समस्या महिला, पुरुष दुवैलाई हुन्छ । प्रायः बढी उमेरका व्यक्तिहरूमा यो धेरै भएको पाइन्छ । यस्ता समस्याको लागि तलका नियमहरूलाई पालना गर्नुहोस् ।
१. प्रत्येक दिन बिहान बाल्टी वा बाटामा तातोपानी राखेर घुँडाभन्दा तल खुट्टा डुबाउनुस् । पानी थप्दै १५–२० मिनेटसम्म सहन सक्ने तातोपानीमा बस्नुहोस् । यसरी तातोपानीमा खुट्टा डुबाएपछि खस्रो खालको सफा ढुंगाले पैताला र कुर्कुच्चा फुटेको भागमा रगड्नुस् । (आजकल मेनिक्योर–पेडिक्योर सेट पनि किन्न पाइन्छ वा खुट्टा घोट्ने खस्रो ढुंगा पनि किन्न पाइन्छ । तर यस्ता खस्रो वस्तुले रगड्दा विस्तारै गर्नुपर्छ ताकि घाउचोट नलागोस् वा सुन्निने, दुख्ने नहोस् । खुट्टा घोट्नेलाई दुई दिन बिराएर गर्नुहोस् ।
२. प्रत्येक दिन सुत्नुभन्दाअघि गर्मीमा चिसोपानीमा र जाडोमा भए तातोपानीमा करिब पाँच मिनेट जति खुट्टा डुबाउनुस् र माड्नुस् वा साबुनले खुट्टा धुने बानी बसाल्नुस् ।
३. खुट्टा धोएर पुछेपछि पैंतालाको भागमा पेट्रोलियम जेली म्यासेलिन वा ग्लिसिरिन लगाउनुस् र मल्ने गर्नुस् । करिब १०–१५ मिनेट जति पैंताला र कुर्कुच्चा तथा गोलीगाँठो माथिसम्म रगड्ने, थिच्ने र मालिस गर्ने गर्नुस् । ग्लिसिरिन वा भ्यासिलिनको सट्टामा गाईको घिउ वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ । मालिस गरेपछि गर्मी छैन भने रातभर मोजा लगाएर सुत्नुस् ।
४. हप्तामा एकदुई पटक जति खुट्टाको लागि बाफ लिने पनि गर्नुस् अर्थात् १०–१५ मिनेट जति बाफ आउने ठाउँमा खुट्टा राखी छोपेर नपोल्ने गरी बाफ लिने गर्नुस् ।
५. कहिलेकाहीँ घिउकुमारीको रस वा तुलसीको पात निचोरेर पैतालामा दल्नुस् र करिब एक घन्टापछि पखाल्नुस् ।
६. कसैलाई गोडाको माथिसम्म पनि (प्रायः जाडोमा) फुट्ने हुन्छ जसका लागि ती भागमा पनि तेल वा गाईंभैंसीको घिउ घस्ने गरेमा फाइदा हुन्छ ।
७. पैंतालामा बेसार र तोरीको तेल मिसाई तताएर सेलाएपछि लगाएमा पनि फुट्ने समस्यामा लाभ पाउन सकिन्छ ।
८. खुट्टाको भागमा रक्तसञ्चार बढाउन गोडाको सूक्ष्म व्यायामहरू, आसनहरू आदि र भोजनमा प्रशस्त मात्रामा फल तरकारी र सलादहरू प्रयोग गर्नुपर्छ । यसरी नै दैनिक तीनचार लिटरसम्म पानी पिउनुपर्छ । नियमित तीन–चार महिनासम्म यसरी ध्यान दिएमा पुरानो कुर्कुंच्चा पैताला फुट्ने समस्या पनि पूरा राम्रो हुन्छ । ( एजेन्सीको सहयोगमा )
Leave a Reply