हेल्थ टुडे,
काठमाडौं, ८ बैसाख : नर्भिक हस्पिटलले आफ्नो रजत महोत्सवको अवसर पारेर अत्याधुनिक हेमोडायलासिस सेवा सुरु गरेको छ । थापाथलीस्थित अस्पताल प्राङ्गणमा शनिबार आयोजित विशेष समारोहमा प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरेकी हुन । नर्भिकमा यो सेवा वरिष्ठ नेफ्रोलोजिष्ट डा. राजेन्द्र अग्रवालको नेतृत्वमा अगाडि बढ्ने छ ।
रजत महोत्सवकै अवसरमा हस्पिटलले मुलुकको स्वास्थ्य सेवामा योगदान गरे बापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई अभिनन्दन गरेकी हुन । कोइरालाले अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई समेत सम्मान गरेकी हुन ।
समारोहमा पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि विमोचन गरिएको थियो ।
Leave a Reply