हेल्थ टुडे,
काठमाडौं, १८ बैशाख : पाँच महिना बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर शनिबार स्वदेश फर्किएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा चासो व्यक्त गर्दै सयौं शुभचिन्तक बासवारी स्थित न्यूरो अस्पताल पुगेका छन् । तर डा. उपेन्द्र देवकोटाको सघन उपचार जारी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेकाले उनलाई प्रत्यक्ष भेट्न नसकिने अवस्था छ ।
देवकोटा स्वदेश फर्किएको समाचार सार्वजनिक भएपछि उनलाई प्रत्यक्ष भेट्न अस्पताल पुग्नेहरुको भिड बढेपछि अस्पतालले विज्ञप्ति निकालेर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तत्काल प्रत्यक्ष भेट्न नसकिने प्रष्ट पारेको हो । डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्न चाहनेहरुका लागि भने अस्पतालमा अलग्गै पुस्तिका राखिएको र त्यसमार्फत आफ्नो सुवेच्छा व्यक्त गर्न सकिने अस्पतालले जनाएको छ । पित्त थैलीमा समस्या देखिए पछि साडे पाँच महिना पहिले उनलाई उपचारका लागि बेलायत लगिएको थियो । त्यहाँ उनको कान्छि छोरी अध्ययनरत थिइन । डा. देवकोटाका साथ उनकी पत्नी डा. मधु देवकोटा गएकी थिइन ।
डा. देवकोटाको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । डा. देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । डा. देवकोटाले थप उपचार आफैले स्थापना गरेको बासबारी स्थित न्यूरो अस्पतालमा गर्न चाहेकाले उनकै चाहना अनुसार स्वदेश ल्याइएको देवकोटाको पारिवारिक श्रोतले जनाएको छ । डा. देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा चासो र चिन्ता व्यक्त गर्ने सबै सुवेच्छुक प्रति अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।
Leave a Reply