हेल्थ टुडे,
बर्दिया : सरकारसँग अहिलेसम्म क्यान्सर विरामीको तथ्यांक छैन । क्यान्सरमा काम गर्ने संस्था, क्यान्सर अस्पताल र सरकार सबैका आफ्नै अनुमानित तथ्यांक छन् । तर केही महिनाभित्रै क्यान्सरका विरामीको वास्तविक तथ्यांक थाहा पाउन सकिने छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले देश भरि र देश बाहिर समेत क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार परिषद्ले अस्पतालमा आधारित र जनसंख्यामा आधारित क्यान्सर दर्ता गरि दुई किसिमबाट तथ्यांक संकलन भइरहेको छ ।
अस्पतालमा आधारित क्यान्सर विरामीको दर्ता अन्तरगत देशका ठूला अस्तताल, क्यान्सर अस्पतालहरु, मेडिकल कलेजहरु र नेपाली विरामीले उपचार गराइरेहका विदेशी अस्पतालहरुबाट क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ भने जनसंख्यामा आधारित क्यान्सर विरामी दर्ता अन्तरगत देश भरिका महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहयोगमा सरकारी स्वास्थ्य संस्थाबाट तथ्यांक संकलन काम धमाधम भइरहेको छ । डा. झाले भने, ‘अहिलेसम्म बर्दियाको बारबर्दिया, कास्कीको पोखरा उपमहानगर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिमामा तथ्यांक संकलनको काम भइरहेको छ । बिस्तारै देशका सबै स्थानिय निकायमा रहेका सरकारी स्वास्थ्य संस्थामार्फत महिला स्वास्थ्य स्वयं सेविकाको सहयोगमा क्यान्सर विरामीको तथ्यांक संकलन गरिने छ । ’
परिषद्ले उपलब्ध गराएको फारम भरेर महिला स्वास्थ्य स्वयं सेविकाले आआफ्नो स्वास्थ्य केन्द्रमा बुझाउन थालेका छन् । यस बिषयमा उनीहरुलाई परिषद्ले तालिम दिइसकेको छ । यसै गरि सरकारले क्यान्सरका विरामीलाई उपचारमा सहयोग स्वरुप उपलब्ध गराउने एक लाख बराबरको उपचार खर्च निकासा दिने व्यवस्थापन महासाखा र स्थानिय गाउपालिका र नगरपालिका कार्यालयमा दर्ता भएका मृत्यु दर्ताबाट पनि तथ्यांक संकलन गरिदै छ । २०७४ को पुष १५ गतेबाट सुरु गरिएको तथ्यांक संकलनले प्रारम्भिक रिपोर्ट ३ महिनाभित्र आउन सक्ने डा. झाले बताए । सुरुमा प्रारम्भिक रिपोर्ट आउने र बिस्तारै केही बर्षमै देशभरिको वास्तविक तथ्यांक आउने आशा झाले व्यक्त गरे । क्यान्सर विरामीको यकिन तथ्यांक पत्ता लगाउन सकिए सरकारलाई यसका बिषयमा नीति बनाउन र अस्पताल खोल्नमात्र नभएर विरामीलाई सहुलियत दिन पनि सहज हुने अवधारणाका साथ यो कार्य अगाडि बढीरहेको डा. झाले बताए । बर्दियाको धधवार स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यस विषयमा अभिमुखिकरण तालिम लिएर तथ्यांक संकलनमा पठाइएको बताए । परिषद्की सहायक अनुसन्धान अधिकृत उमा काफ्लेले यो अभियानमा सरकारी स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविका र निजी क्षेत्रका स्वास्थ्य संस्था र मेडिकल कलेजहरुको सकारात्मक सहयोग रहेको बताइन ।
Leave a Reply