हेल्थ टुडे,
काठमाडौं, ११ असार : नेपालमा फेरि पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नेपाल नर्सिङ काउन्सिलले आर्थिक वर्ष २०७५।०७६ देखि नर्सिङ पढाई हुने कलेजहरुमा अनिवार्य रुपमा १५ प्रतिसत पुरुषलाई अध्यापन गराउनै पर्ने व्यवस्था गरेपछि पुरुषहरुले पनि नर्स हुने बाटो खुलेको हो । काउन्सिलकी राजिस्टार लक्ष्मी राईले भनिन, ‘ अब नर्सिङ पढाई हुने कलेजहरु र सिटिइभिटीबाट मान्यता पाएका सबै शिक्षण संस्थाहरुले कुल नर्सिङ सिटमा १५ प्रतिसत पुरुषलाई पढाउनै पर्ने व्यवस्था भएको छ । ’ २५ वर्ष पहिले पुरुषले पनि नर्सिङ पढेर नर्स बन्न पाउने व्यवस्था थियो । तर पछि यो व्यवस्था हटाइएपछि पुरुष नर्स बन्ने बाटो बन्द भएको थियो । त्यति बेलाका केही औलामा गन्न सकिने पुरुष नर्स कार्यरत भएपनि त्यसपछि कुनै पुरुषले पनि नर्स बन्न पाएका छैनन् ।
नेपालमा हाल नर्सिङ पढाई हुने एकसय २० कलेज छन् । काउन्सिलको पछिल्लो तथ्यांक अनुसार देशभरि अहिले करिव ८२ हजारले नर्सिङ उर्तीण गरेका छन् । पुरुषले पनि नर्स बन्ने अवसर पाएपछि अबको केही बर्षपछि अस्पताल र स्वास्थ्य संस्थाहरुमा पुरुष नर्सपनि देख्न सकिने छ । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले नेपालमा पनि पुरुष नर्सको आवश्यकता महसुस गरेर काउन्सिलले व्यवस्था गर्नु सकारात्मक पहल भएको बताइन । बिदेशी अस्पतालहरुमा पनि पुरुष नर्स हुने गरेकाले यहाँ पनि व्यवस्था गर्दा राम्रै हुने पोखरेलको दावी छ । २५ वर्ष अगाडि १० प्रतिसत पुरुषले नर्सिङ पढन् पाउथे । तर यस पटक त्यो भन्दा ५ प्रतिसत बढी अर्थात १५ प्रतिसत पुरुषले त्यो अवसर पाउने भएका छन् ।
Leave a Reply