हेल्थ टुडे,
काठमाडौं, १८ भदौ : देवानी र अपराध संहिता संसोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच सहमति भएको छ । सरकारले यही भदौ १ गतेदेखि लागु गरेको मुलुकी देवानी र अपराध संहिता संसोधनको माग गर्दै नेपाल चिकित्सक संघको नेतृत्वमा देश भरिका चिकित्सक सडकमा ओर्लिएका छन् । मुलुकी अपराध संहिता ऐन र स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनमा संशोधन गर्न सरकार तयार भएपछि अगामी सोमबारसम्मका लागि आन्दोलन स्थगित गर्ने सहमती भएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । सरकारी अधिकारीले सोमबारसम्मका लागि आन्दोलनरत चिकित्सकसँग समय मागेको थियो ।
संघका महासचिव डा.कार्कीले सोमबारको मन्त्री परिषद्को बैठकसम्म पर्खिने र सहमती अनुसार संसोधन प्रकृया अगाडि नबढे अनिश्चितकालिन हड्ताल सुरु हुने जानकारी दिए । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको नेतृत्वको सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघको टोलीबीच दिनभर भएको वार्ता साँझ सहमतिमा पुगेको हो । जसअनुसार अपराध संहितामा रहेको दफा २३० खारेज गर्न दुबै पक्ष सहमत भएका छन् । जसमा अनुभवका आधारमा पनि उपचार गर्न पाउने व्यवस्था थियो ।
हेलचक्राइ, लापरबाही भएको विषयमा यसअघि उजुरी पर्नासाथ चिकित्सकलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने प्रावधानका सट्टा सम्बिन्धत काउन्सिलले छानविन गरेर प्रतिबेदन बुझाएपछि मात्र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनेगरी सहमति भएको छ ।
दफा २३३ को उपदफा ३ (क)मा दैवि प्रकोप प्राकृतिक विपद, सडक दुर्घटना वा महामारीजस्तो विशेष परिस्थितिमा विरामीको ज्यान जोगाउनको लागि सम्वन्धितलाई जानकारी बेगर उपचार गर्न बाधा पर्नेछैन् भन्ने व्यवस्था थप्ने सहमति भएको छ ।
Leave a Reply