डा. रवीन्द्र समीर,
थाइराइड ग्रन्थी मानिसको घाँटीको अग्रभागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यस ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्छ । थाइराइड हर्मोनले शरीरलाई चाहिने आवश्यक मात्रामा शक्ति नियमन गर्न अन्य हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्ने गर्छ । थाइराइड ग्रन्थीले शरीरमा रहेका अरू तन्तुको वृद्धि विकासका लागि महत्वपूर्ण भूमिका निर्वाहसमेत गर्छ ।
थाइराइड ग्रन्थीको कार्य क्षमतामा गडबड भएमा प्रशस्त मात्रामा हार्मोनको उत्पादन हुन्छ, जसलाई ‘हाइपरथाइराइडिज्म’ भनिन्छ । अत्यन्त न्यून मात्रामा हर्मोन उत्पादन भएमा ‘हाइपोरथाइराइडिज्म’ हुन्छ ।
यो दुवै हार्मोनको गडबडीले पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेका छन् । मस्तिष्कबाट पिट्युटरी ग्रन्थीमा थाइराइड स्टिमुलेटिङ हार्मोन (टीएसएच) हुन्छ । टीएसएच हार्मोन थाइराइड ग्रन्थीमा परिणत भएर टी३ तथा टी४ हार्मोन उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थीलाई टी३ र टी४ हार्मोन उत्पादन गर्न प्रशस्त मात्रामा आयोडिन नुनको आवश्यकता पर्छ । परीक्षणमा टी३, टी४ बढेमा र टीएसएच घटेमा हाइपोरथाइराइडिज्म पत्ता लाग्छ । यदि टी३, टी४ घटेमा र टीएसएच बढेमा हाइपरथाइराइडिज्म भएको पत्ता लगाउन सकिन्छ ।
थाइराइड रोगबाट बच्ने हो भने धेरै मात्रामा रक्सी, चुरोट, चिया, कफी, खानु हुँदैन । अनावश्यक मात्रामा सिटीस्क्यान एक्सरे गर्नु हुँदैन । थाहा पाउँदा पाउँदै पनि लामो समयसम्म यो रोगको उपचार गरिएन भने बेहोस हुने, चिटचिट पसिना आउने, रिंगटा लाग्ने, उच्च रक्तचाप, पेट दुख्ने, चेतना हराउने, कोलेस्ट्रोलको मात्रा बढेर आकस्मिक रूपमा हृदयाघात तथा पक्षघात हुने सम्भावना रहन्छ । दुर्गम जिल्लामा बसोबास गर्ने व्यक्तिमा यो रोगले बढी प्रभावित पारेको हुन्छ । खानामा पौष्टिक तत्वको कमीले गर्दा यो रोग लाग्ने सम्भावना निकै रहन्छ । गाउँमा कोदो, फापर, ढिकेनुन खाने भएकाले थाइराइडसम्बन्धी रोगले बढी सताउने गरेको हो ।
अहिलेसम्म सरकारी निकायबाट पनि यो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम ल्याइएको छैन । दुर्गम जिल्लामा बस्ने मानिसलाई यो आयोडिन नुनसम्बन्धी चेतना नभएकै कारण सहरमा बस्नेभन्दा दुर्गम क्षेत्रमा बस्ने मानिस यो रोगको सिकार हुन बाध्य छन् । प्रौढ अवस्थाका ६० प्रतिशतभन्दा बढी महिलामा यो रोगको लक्षण देखा परे पनि दुईदेखि पाँच प्रतिशत महिलामा यो रोग देखिने गरेको छ । त्यसैले समयमै थाइराइडसम्बन्धी रोग पत्ता लगाउन रगत जाँच गरी स्वस्थ जीवनशैली बिताउनतिर लागौं ।
कसरी पत्ता लगाउने ?
थाइराइड हर्मोनमा गडबड देखिएमा थाइराइडसम्बन्धी रोग लागेको थाहा पाउन सकिन्छ । ल्याबमा रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ ।
हाइपरथाइराइडिज्म रोगका लक्षण :
सामान्य तापक्रममा बढी गर्मीको महसुस गर्नु ।
कपाल झर्ने तथा कपालमा हाँगा फाट्नु ।
पटकपटक पखाला लाग्नु ।
निद्रा नलाग्नु । जोर्नीहरू दुखिरहनु ।
कमजोर महसुस गर्नु ।
हातहरू काप्नु ।
महिनावारी नहुनु वा अनियन्त्रित हुनु ।
मुटुको धड्कन छिटोछिटो बढ्नु ।
एक्कासि तौल घटेर जानु ।
घाँटीमा गलगाँडजस्तो बढ्नु
श्वास फेर्न गाह्रो हुनु ।
शरीरका मांशपेसी काँध र तिघ्रा दुख्नु ।
केटाकेटीको स्मरण शक्तिमा ह्रास आउनु ।
मुटुसम्बन्धी रोग भएका व्यक्तिलाई श्वास फेर्न गाह्रो हुनु ।
हाइपोरथाइराइडिज्मका लक्षण :
कपाल र छाला सुक्खा हुनु ।
नङ टुटेर जानु ।
खाना नरुचे पनि तौल बढ्दै जानु ।
स्मरण शक्ति घट्दै जानु ।
कब्जियत हुनु ।
महिनावारी अनियमित हुनु ।
गलगाँड निस्कनु ।
स्वर धोद्रो हुनु ।
तौल बढे पनि यौवन अवस्था ढिलो हुनु ।
शारीरिक वृद्धि विकास कम हुनु ।
हात खुट्टा, आँखा सुन्निनु ।
केटाकेटीमा अनावश्यक तौल बढ्दै जानु ।
स्मरण शक्ति ह्रास हुँदै जानु ।
जन्डिससम्बन्धी रोगले सताउनु ।
कोलोस्ट्रोलको मात्रा बढेर हृदयाघात तथा पक्षघातसमेत हुन सक्छ ।
रोग लाग्ने मुख्य कारण ?
सधैं तनावमा रहेमा ।
खानामा आयोडिनयुक्त नुनको मात्रा कम भएमा ।
दुर्घटनामा परी घाँटीमा ठूलो चोटपटक लागेमा ।
सिटीस्क्यान, आँखा, घाँटीको एक्सरे पटकपटक गरेमा ।
मुटुको शल्यक्रिया गरेका बिरामी पनि यो रोगबाट प्रभावित हुन सक्दछन् ।
आमाबाबुलाई थाइराइडसम्बन्धी रोग लागेमा जन्मिने शिशुलाई पनि यो रोग लाग्ने सम्भावना निकै हुन्छ ।
रोकथाम
तनावमा मुक्ति ।
व्यवस्थित जीवनशैली ।
सही मात्रामा आयोडिनयुक्त नुनको सेवन ।
समयसमयमा रगत जाँच ।
समस्या देखिएमा तुरुन्तै विशेषज्ञकहाँ स्वास्थ्य जाँच ।
विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन ।







Leave a Reply