पदमराज जोशी,
नेपालको सामाजिक परिवर्तनको इतिहासमा केही व्यक्तिहरू यस्ता हुन्छन् जसको जीवन कुनै एक पेसा वा पदमा सीमित हुँदैनन् । उनीहरू विचार, संघर्ष र निरन्तर सक्रियतामार्फत समाजको दिशा बदल्ने प्रयास गर्छन् । शान्तलाल मुल्मी त्यस्तै एक प्रेरक व्यक्तित्व हुन् । गान्धीवादी सोच, शिक्षा सुधार, स्वास्थ्य अधिकार र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका एक सामाजिक अभियन्ता ।
८२ वर्षको उमेरमा पनि उनी अझै उत्तिकै सक्रिय छन् । उनको जीवन केवल व्यक्तिगत संघर्षको कथा होइन, यो नेपालमा शिक्षा, स्वास्थ्य र नागरिक अधिकारको विकाससँग गाँसिएको एक दीर्घ सामाजिक यात्राको कहिल्यै नमेटिने दस्तावेज हो ।
शान्तलाल मुल्मीको जीवनको प्रारम्भिक अध्ययन संघर्षबाट सुरु हुन्छ । बाल्यकालमा उनले गरिबी, असुरक्षा र राजनीतिक अस्थिरतालाई नजिकबाट देखे र भोगे । उनको परिवार परिवार राजनीतिक रूपमा सचेत थियो, विशेषगरी उनका बुबा रुद्रलाल मुल्मी विसं २००७ सालको क्रान्तिसँग जोडिएको पृष्ठभूमिबाट आएका थिए । यस कारण घरमा समय–समयमा प्रहरी जाँच, निगरानी र दबाबको वातावरण रहिरहन्थ्यो । यस्तो परिस्थितिले शान्तलालको बाल्यकाल सहज थिएन, तर त्यही कठिनाइले उनको सोचलाई परिपक्व बनायो । सानै उमेरदेखि मुल्मी बोल्न खप्पिस थिए । विसं २०१५ सालमा भएको पहिलो आम निर्वाचनका बेला उनी माइक समातेर नेपाली कांग्रेसको पक्षमा मत माग्दै घरघर पुग्थे र जनतालाई मतदान गर्न अभिप्रेरित गर्दथे ।
संघर्षले सिकाएको जीवनको पाठ :
गरिबी उनको जीवनको अर्को कठोर वास्तविकता थियो । कतिपय समयमा दैनिक जीवन चलाउन पनि कठिन हुने अवस्था थियो उनको परिवारमा । बाल्यकालमा कठिन आर्थिक अवस्थाका बीच जीवन चलाउनुपर्ने अवस्था पनि उनको स्मृतिमा अझै ताजै छ ।
उहाँ सम्झनु हुन्छ, २००७ सालको क्रान्तिताका हाम्रो गरिवीले दिनको छाक टार्न पनि मुस्किल हुन्थ्यो । हरेक साँझ मेरो बुबाले कतैबाट १० रुपैयाँ लिएर आउनु हुन्थ्यो र त्यही पैसाबाट दिनभरिका लागि चामल, दाल तेल र बाल्ने दाउरा किन्नुपर्ने हुन्थ्यो ।
तर यही अभावभित्र पनि उनले पढाइ छोडेनन् । संघर्षको बीचबाटै उनले आफ्नो लक्ष्य निर्माण गरे र शिक्षा नै परिवर्तनको बाटो हो भन्ने विश्वास विकास गरे ।
उनको जीवनको पहिलो ठूलो उपलब्धि थियो, कम उमेरमै एसएलसी पास गर्नु । त्यो समय धेरैका लागि शिक्षा अधुरो रहन्थ्यो, तर मुल्मीका लागि त्यो केवल सुरुवात थियो । एसएलसीपछि उनले त्रिचन्द्र कलेजमा अध्ययन गरे, जहाँ उनको बौद्धिक चेतना विस्तार भयो । कलेज जीवन केवल पुस्तक अध्ययनमा सीमित रहेन; त्यहाँ उनले राजनीतिक बहस, विचारधारात्मक छलफल र समाजबारे गहिरो चिन्तन गर्ने अवसर पाए ।

त्यही वातावरणमा उनले जीवनलाई केवल व्यक्तिगत उन्नतिमा होइन, सामाजिक जिम्मेवारीसँग जोड्न थाले । कलेजका दिनहरूमा उनले शेरबहादुर देउवा, बिपिन कोइराला, नारायणगोपालजस्ता प्रतिभाशाली व्यक्तित्वहरूसँग भेटघाट र संगत गर्ने अवसर पाए । ती भेटहरू र संगतमार्फत मुल्मीले आफ्नो सोचलाई अझ फराकिलो बनाएर देखाए । उनी बुझ्दै गए, व्यक्ति होइन, विचार र योगदानले इतिहास बनाउँछ ।
उनको अध्ययन यात्रा अघि बढ्दै गयो । उनले त्रिचन्द्र कलेजबाट आईएससी अध्ययन गरे । त्रिचन्द्र कलेजमा विसं २०१९ मा विद्यार्थी युनियनको संस्थापक सदस्य थिए मुल्मी । उनको चाहना डाक्टर बन्ने भए पनि त्यो भने सम्भव भएन । जीवनले उनलाई अर्को बाटो देखायो, शिक्षण र सामाजिक सेवा । उनले बीएससी र बीएड पूरा गरेपछि शिक्षण पेसामा प्रवेश गरे । यही पेसा उनको जीवनको एक महत्वपूर्ण आधार बन्यो ।
शिक्षालाई जीवनसँग जोड्ने अभियान :
शिक्षकका रूपमा काम गर्दा उनले शिक्षालाई केवल पाठ्यपुस्तक पढाउने काम होइन, जीवन निर्माण गर्ने प्रक्रिया हो भन्ने गहिरो अनुभव गरे । यही अनुभवले उनलाई शिक्षा सुधारतर्फ डो¥यायो । पछि उनी गान्धी आदर्श विद्यालयमा सहप्रधानाध्यापक बने । विद्यालय प्रशासनमा रहेर उनले नयाँ सोच अघि सारे, शिक्षा व्यावहारिक, उत्पादनमुखी र जीवनसँग जोडिएको हुनुपर्छ ।
उनको शिक्षा दर्शन निकै स्पष्ट थियो । उनी विश्वास गर्थे कि विद्यार्थी केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन । विसं २०२१ सालमा वीरगन्जमा भएको प्रअहरूको भेलामा उनले देशमा नयाँ शिक्षाको आवश्यकता रहेको उद्घोष गरेका थिए । त्यसलाई सबैले समर्थन गरेका थिए । “एक हातमा किताब र अर्को हातमा कोदालो” भन्ने अवधारणा उनको सोचको प्रतीक बन्यो । यसको अर्थ थियो—शिक्षा र श्रम सँगसँगै जानुपर्छ । यो विचार केवल भाषणमा सीमित रहेन; उनले यसलाई व्यवहारमा लागू गर्न प्रयास गरे । पछि तत्कालीन राजा वीरेन्द्रले उनले भने झै विसं २०२८ सालमा नयाँ शिक्षा नीति प्रयोगमा ल्याए । व्यावसायिक शिक्षाले महत्व पायो । जसमा मुल्मीको अवधारणालाई व्यवहारमा समेटियो ।
विपन्न बालबालिकाका लागि शिक्षा क्रान्ति:
मुल्मीले विपन्न र श्रमिक बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रमहरू सञ्चालन गरे । इँटा भट्टा, मजदुरी र सडक जीवनमा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास गरे । बिहान काम गर्ने बालबालिकालाई दिउँसो वा फुर्सदको समयमा पढाउने प्रणाली विकास गरियो । यसरी शिक्षा प्रणालीलाई उनीहरूले जीवनसँग जोड्ने प्रयास गरे ।

उनको अर्को महत्वपूर्ण योगदान थियो ‘छिटो सिकाइ’ प्रणाली । मुल्मीलाई विसं २०३४ मा ग्ऋभ्ए सुविधाविहीन बालबालिकाहरूका लागि शैक्षिक कार्यक्रमको निर्देशक भएर काम गर्ने अवसर दियो । त्यसको लागि उनले सन् १९७९ मा बंगलादेश गएर तालिम पनि लिए । नेपाल फर्केर काम गरेर कमाउने विद्यार्थीलाई तालिम दिने यो कार्यक्रम सफल बनाए ।
उनका अनुसार यदि शिक्षण प्रणाली प्रभावकारी बनाइयो भने विद्यार्थीले छोटो समयमा नै आधारभूत तह पार गर्न सक्छन् । त्यसैले उनले १३० दिनको निरन्तर शिक्षण मोडेल अघि सारे । शनिबार, बिदा र लामो अवकाशका कारण शिक्षा प्रणाली कमजोर भइरहेको बेला उनले निरन्तर कक्षा सञ्चालनको अवधारणा प्रस्तुत गरे । सन् १९८० को दशकतिर उनको शिक्षा कार्यक्रम विस्तार हुँदै गयो । आदर्श कन्या निकेतन, भक्त विद्या आश्रमलगायत विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिए । यी प्रयासहरूले धेरै विपन्न बालबालिकालाई शिक्षा प्राप्त गर्न सहयोग ग¥यो । उनले बेलायत सरकारको सहयोगमा सञ्चालनमा रहेको संस्था इहाबm मा एक दशकसम्म नेपालस्थित प्रतिनिधिको रुपमा आफ्नो दायित्व बहन गरे ।
शिक्षा क्षेत्रको कामसँगै मुल्मी सामाजिक संगठन निर्माणतर्फ पनि सक्रिय भए । उनले गैरसरकारी संस्था क्षेत्रलाई सुदृढ बनाउन भूमिका खेले । महासंघको गठनमा उनी संस्थापक सदस्यहरूमध्ये एक थिए । उनले संगठनात्मक नेतृत्वमा तीन पटकसम्म महासचिवको जिम्मेवारी सम्हाले । यो अवधिमा उनले नागरिक समाजलाई संस्थागत, संगठित र प्रभावकारी बनाउने प्रयास गरे ।
उनको सोच केवल राष्ट्रिय सीमामा सीमित थिएन । उनले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गरे । अक्सफोर्ड विश्वविद्यालयलगायतका संस्थामा आयोजित कार्यक्रमहरूमा उनले सहभागिता जनाए । अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उनले विकास, शिक्षा र स्वास्थ्यका मुद्दाहरूमा नेपालका अनुभव प्रस्तुत गरे ।
स्वास्थ्य अधिकारका लागि निरन्तर आवाज:
उनको जीवनको अर्को महत्वपूर्ण मोड स्वास्थ्य अधिकार आन्दोलन थियो । उनले स्वास्थ्यलाई केवल सेवा होइन, मानव अधिकारको रूपमा व्याख्या गरे । उनका अनुसार राज्यले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । यो विचार पछि नेपालको नीतिगत बहसमा महत्वपूर्ण विषय बन्यो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा पनि उनको योगदान उल्लेखनीय छ । मुल्मीले धूमपान र सुर्तीजन्य पदार्थका कारण हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउने काम गरे । उनका अनुसार नसर्ने रोगहरूको मुख्य कारण अस्वस्थ जीवनशैली, जंक फुड, र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हो ।
स्वास्थ्य कर लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । यसबाट उठेको रकम स्वास्थ्य बिमा प्रणालीमा प्रयोग गर्न सकिन्छ भन्ने उनको विचार थियो । उनको यो विचारलाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मूर्तरूप दिने अभिभारा लिए । फलस्वरूप नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आयो । नेपालमा स्वास्थ्य बिमा प्रणाली कमजोर भइरहेको अवस्थामा उनी नीति सुधारका लागि निरन्तर आवाज उठाइरहेका छन् । जनस्वास्थ्य ऐन बनाउनमा पनि उनको उत्तिकै योगदान छ ।
मुल्मीको अन्तर्राष्ट्रिय अनुभव पनि गहिरो छ । उनले शान्ति प्रक्रिया, मानव अधिकार र विकासका विषयमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रस्तुति दिएका छन् । श्रीलंंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुंगासँग एउटै मञ्चमा प्रस्तुति दिने अवसर उनका लागि महत्वपूर्ण उपलब्धि थियो । उनले नेपाल शान्ति प्रक्रियाबारे डेनमार्कमा भएको अन्तर्राष्ट्रिय सामाजिक भेला मा समुदायसँग अनुभव साझा गरेका थिए । उनले क्युवाका राष्ट्रपति फिडल क्यास्ट्रोलाई पनि भेट्ने र कुराकानी गर्ने अवसर पाएका थिए । मुल्मी भन्छन्, त्यो पनि मेरा लागि अवस्मिरणीय अवसर थियो ।
आठ दशकपछि पनि समाज सेवामा सक्रिय:
यतिमात्र होइन नेपालमा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण कानुन बनाउनका लागि दबाब दिने देशभरिबाट ५०,००० (पचास हजार) भन्दा वढी जनताको दस्तखत संकलन गरी सभामुख स्व. सुवास नेम्बाङलाई बुझाउनु, जनस्वास्थ्य ऐन, नसर्ने रोगका लागि बहुपक्षीय कार्ययोजना र मदिरा ऐन निर्माण गर्न उहाँले खेल्नु भएको भूमिकालाई सबै क्षेत्रबाट सराह्रना गरिएको छ । यतिमात्र होइन उहाँले स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय प्राविधिक समितिको सदस्यको रूपमा खेलेको भूमिका उहाँका लागि महत्वपूर्ण सिकाइ भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न पुरस्कारबाट सम्मानित मुल्मी सबैका लागि प्रेरणको स्रोत हो भन्दा अत्युक्ति नहोला ।
शान्तलाल मुल्मीको जीवन केवल व्यक्तिगत यात्रा होइन, यो स्वास्थ्य अधिकार, शिक्षा सुधार र सामाजिक चेतनाको निरन्तर अभियान हो ।

उनले स्थापना गरेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रले नेपालमा स्वास्थ्यलाई सेवा होइन, नागरिक अधिकारका रूपमा स्थापित गर्ने प्रयासलाई व्यावहारिक रूप दिएको छ । करिब दुई दशकसम्म उनको नेतृत्वमा केन्द्रले विपन्न र ग्रामीण समुदायसम्म स्वास्थ्य पहुँच विस्तार गर्दै आएको छ ।
उनले आफ्ना आमा–बुबा छत्रलक्ष्मी र रुद्रलाल मुल्मीको नाममा स्थापना गरेको स्मृति प्रतिष्ठानले सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्ने मात्र होइन, विपन्न बालबालिकाको शिक्षामा पनि निरन्तर सहयोग पु¥याउँदै आएको छ । यसैगरी, उनको अध्यक्षतामा गठन भएको सुर्तीजन्य पदार्थविरुद्धको राष्ट्रिय सञ्जाल आज देशका ५७ जिल्लासम्म फैलिएको प्रभावशाली जनआन्दोलनका रूपमा स्थापित छ ।
व्यक्तिगत जीवनमा मुल्मीको परिवार शिक्षित र स्थापित छ । पत्नी तीर्थमायासहित तीन छोरीमध्ये दुई अस्ट्रेलियामा र एक काठमाडौंमा चिकित्सकका रूपमा कार्यरत छन् । आठ दशक पार गरेको उमेरमा पनि उनी उत्तिकै सक्रिय, ऊर्जाशील र नयाँ कामप्रति उत्साही छन् । धन–सम्पत्तिप्रति कुनै मोह नराख्ने उनको जीवन सरलता र अनुशासनमा बाँधिएको छ । उनको दिनचर्या नियमित व्यायाम, प्राणायाम, सरल भोजन र बौद्धिक संवादमा बित्छ । उनी बारम्बार भन्ने गर्छन्, ‘जिन्दगीलाई घेरामा बाँध्नु हुँदैन, आफ्नै रेखा आफैं कोर्नुपर्छ ।’ यही विचार उनको जीवनको सार बनेको छ— अनुशासनभित्रको स्वतन्त्रता र सेवाभित्रको अर्थपूर्ण अस्तित्व ।
उनको जीवनको विशेषता केवल उपलब्धिहरू होइन, निरन्तर सक्रियता हो । ८२ वर्षको उमेरमा पनि उनी बिहानदेखि रातिसम्म काममा संलग्न रहन्छन् । उनी भन्छन, ‘एक दिन बराबर तीन दिनको काम गर्नुपर्छ ।’ यो भनाइ केवल मेहनतको संकेत होइन, जीवनप्रतिको गहिरो प्रतिबद्धता हो ।
आज पनि उनी स्वास्थ्य अधिकार, सार्वजनिक नीति सुधार र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय छन् । उनी विश्वास गर्छन् कि नेपालमा धेरै समस्या नीति नभएर कार्यान्वयनको कमजोरीका कारण छन् । नीति बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई उनले बारम्बार आलोचना गरेका छन् ।
शान्तलाल मुल्मीको जीवनले एउटा महत्वपूर्ण सत्य उजागर गर्छ, परिवर्तन भाषणबाट होइन, निरन्तर कामबाट सम्भव हुन्छ । शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा उनको योगदान केवल व्यक्तिगत उपलब्धि होइन, एक सामाजिक चेतनाको विकास हो ।
उनको जीवन कथा एक यस्तो दीप हो जसले नयाँ पुस्तालाई देखाउँछ, संघर्षलाई स्वीकार गरेर, विचारलाई कर्ममा बदल्दै, समाजलाई अझ न्यायपूर्ण बनाउन सकिन्छ । उनको यात्रा अझै जारी छ । उमेरले सीमित नगरेको यो जीवन, अझै पनि समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।
उनको जीवनले सिकाउँछ, संघर्षबाट भाग्नु होइन, त्यसलाई रूपान्तरण गर्नु पर्छ ।
शिक्षा केवल ज्ञान होइन, जीवन हो । स्वास्थ्य अधिकार दान होइन, न्याय हो । विचारमात्र होइन, कर्म पनि आवश्यक छ । शान्तलाल मुल्मी आज पनि त्यही यात्रामा छन, थाकेका होइन, अझै जागेका । उनको जीवन एउटा वाक्यमा भन्नुपर्दा, ‘यो एउटा मान्छेको जीवन होइन, यो समाज बदल्ने निरन्तर प्रयास हो ।’







Leave a Reply