• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

December 3rd, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

पदमराज जोशी,

पोज, पारा र पब्लिसिटीले एउटा बैंसालु युवकलाई चुरोटको खिल्लीबाट धुवाँको ‘पफ’ उठाउने रहर बसाउँछ । त्यही रहरले समातेको चुरोटको खिल्ली लत बनेर जिन्दगीमा कहर बर्साउँछ । धुवाँ सेवनको लत र तलतलले अन्ततः धुवाँ बनाउँछ जिन्दगीलाई । चुरोट, बिँडी, सिगार, तमाखु, गाँजा अनेकन नाममा मुख धुवाँउँछन् लत बसेका । मुख धुवाँउँछन् अनि फोक्सो कुहाउँछन् । यसले निम्त्याउँछ क्यान्सर, मधुमेह, क्षयरोग, दमलगायतका रोग । त्यसैले त चुरोटका बट्टामा छापिन्छ क्यान्सरको भयावह चित्र र लेखिन्छ, ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ ।’ सरकारले निषेध गर्न खोजेको छ, सार्वजनिक स्थलमा धूमपान गर्न । कानुन बनाएकै वर्षांै भइसक्यो तर पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । कार्यान्वयन हुन नसक्नुमा सरकारका विभिन्न निकायहरूबीच समन्वय हुन नसक्नु प्रमुख कारण मान्न सकिन्छ । तर सबैभन्दा ठूलो गल्ती धूमपान गर्नेहरूकै हो ।
निरोगी बन्ने पहिलो त्याग सर्त हो धूमपान अनि मद्यपान त्याग । भनिन्छ, ‘पैसाले पैसा तान्छ’ । त्यो सन्दर्भ धुवाँको सन्दर्भमा पनि लागू हुन्छ । विशेष धूमपानका लागि उडाइने धुवाँ । त्यो धुवाँले मानिसलाई धुवाँ बनाएर उडाएर लैजाने बाटोमा लैजान्छ । चुरोट तथा सुर्तीजन्य पदार्थको धुवाँ उडाउँदाको अनौठो सांसारिक अनुभूतिले संसार अनुभव गर्ने समय कम गराउँछ । त्यसैले त चिकित्सकहरू भन्छन्, ‘यदि तपाईं निरोगी बन्न चाहनुहुन्छ भने धूमपान र मद्यपानबाट टाढै बस्नुपर्छ ।’ चिकित्सकको सल्लाहभित्र लुकेको कारण हो, धूमपान र मद्यपान क्यान्सर, मुटुसम्बन्धी रोग, मधुमेह, क्षयरोग, दम, खोकीलगायत दर्जनौं किसिमका नसर्ने रोगको प्रमुख कारण हुन् । मनमा लागेको विरहको बेला उडाइने धुवाँ, समस्याको समाधान होइन बरु बाहिर मुखमा झोसेर लगाइने चुरोटको आगोले जीवन नै ध्वस्त बनाउँछ । त्यो एक व्यक्तिमा मात्र सीमित हुन्न ।
बालरोग विशेषज्ञ डा.धन शाक्य भन्छन, ‘धूमपान गर्ने आमाको कोखबाट जन्मेको बच्चामा ब्रोङकाइटिस, निमोनिया, रुघाखोकी, श्वासप्रश्वास र छातीसम्बन्धी रोग लाग्छ ।’ उनी अगाडि थप्छन्— ‘धूमपान र मद्यपानले मानिसलाई तुरुन्तै रोगी बनाउँदैन तर यसको लतमा फसिसकेपछि यसले विस्तारै शरीरमा आक्रमण सुरु गर्छ र मानिसलाई दीर्घरोगी बनाएर मृत्युको शप्यामा पु¥याउँछ ।’ विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक पनि त्यही भन्छ, ‘फोक्सोको क्यान्सरबाट हुने मृत्युमध्ये ८५ प्रतिशत धूमपानका कारणले हुन्छ ।’ चुरोट बनाउन प्रयोग हुने सुर्तीमा निकोटिन, कार्बनमनोअक्साइड, आर्सेनिक, बेन्जपाइरिनलगायत क्यान्सर गराउने घातक रसायन हुन्छन् । नेपालमा हुने क्यान्सर रोगीमध्ये आधाभन्दा बढी धूमपान सेवनका कारण हुने गरेको वरिष्ठ क्यान्सर रोगविज्ञ डा. प्रकाशराज न्यौपाने बताउँछन् ।
उनी भन्छन्, ‘क्यान्सर, मधुमेह, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोग बढ्नुको प्रमुख कारण धूमपान र मद्यपानको सेवन हो ।’ डा. न्यौपानेका अनुसार नेपालमा पहिले सर्ने रोग (झाडापखाला, हैजा) बढी लाग्थे । सर्ने रोगको उपचार त्यति महँगो हुँदैन तर पछिल्ला वर्षमा क्यान्सर, मधुमेह, मुटु रोगजस्ता नसर्ने रोगीको संख्या अत्यधिक बढी रहेको छ । नसर्ने रोगको उपचार धेरै महँगो हुन्छ । यस्तो उपचार सर्वसाधारण नेपालीको आर्थिक पहुँचभन्दा बाहिर हुन्छ । स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्र भन्छन्, ‘नेपालमा कुल मृत्यु हुनेमध्ये ८० प्रतिशत सरुवा रोगका कारण मृत्यु हुन्थ्यो । नसर्ने रोगले ज्यान गुमाउने २० प्रतिशत हुन्थे ।’ तर, अहिले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या कुल मृत्युको ६० प्रतिशत पुग्न लागिसक्यो ।
नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्नुको एउटा प्रमुख कारण धूमपान र मद्यपान हो । धूमपान र मद्यपान त्याग्न सके नसर्ने रोगको संक्रमण घटाउन सकिने डा. मिश्र बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र सोलिड नेपालको सहकार्यमा एक दशक अगाडि गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार कुल जनसंख्याको ३७ प्रतिशतले सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो । तीमध्ये पुरुष ५३.३ र महिला १९.२ प्रतिशत थिए । पाँच विकास क्षेत्र र तीन भौगोलिक क्षेत्र समेट्ने गरी १५ जिल्लाका १५ देखि ६४ वर्ष उमेरसमूहका चार हजार तीन सय २८ जनामा गरिएको अध्ययनअनुसार २९.३ प्रतिशत पुरुष र १६.५ प्रतिशत महिला मद्यपानको लतमा रहेको देखाएको थियो । अहिले त्यो संख्या घटेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । तर जुन रूपमा घट्नु पर्ने हो त्यस अनुरूप घट्न नसकेको विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी धूमपान र मद्यपान गर्नेको संख्या घटाउँदै लैजान नसके देशको समग्र स्वास्थ्यमा ठूलो चुनौती थपिने चेतावनी दिन्छन् । धूमपान र मद्यपानका कारण लाग्ने दीर्घरोगको उपचार महँगो हुने भएकोले सरकारले छुट्ट्याउने बजेटले बिरामीको उपचार गर्न नसकिने अवस्था आउने उनी बताउँछन् ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ हामीसँग छ । नियमावली र निर्देशिका पनि बनेको ६ वर्ष भइसक्यो । यसले धूमपानविरुद्धको अभियानलाई ठूलो बल दिएको छ । कानुनले सार्वजनिक स्थलमा धूमपान गर्न बन्देज गरेको छ । त्यसो त अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र समेत धूमपान गर्न रोक लगाएको छ । हात्ती जत्रा अक्षरमा साहसीको एकमात्र चाहना’, ‘सफलताको लाइफ’ लेख्ने चुरोट उत्पादकले कमिला टाउके अक्षरमा लेख्ने ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’को स्वास्थ्य चेतावनीलाई चित्रमा परिणत गरिदिएको छ नयाँ व्यवस्थाले । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखा प्रमुख उपसचिव पुष्करराज नेपालका अनुसार सुर्तीजन्य पदार्थको बट्टाको बाहिरी कुल भागमध्ये ९० प्रतिशतमा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देशसहित तस्बिर बुझ्ने भाषामा लेख्नुपर्ने कानुनी प्रावधान छ । तर सुर्ती उद्योगहरूको बल मिच्याइँका कारण चुरोटलगायत सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत चित्रसहितको सन्देश मात्र राख्ने गरेका छन् । धूमपानका लागि प्रोत्साहन दिने, सूचना बढी दिने र त्यसले गर्ने ठूलो हानिबारे मौन रहने, उत्पादकको गतिविधि नियन्त्रणमा राख्न सरकारले यस अगाडि नै सुर्तीजन्य पदार्थको सञ्चारमाध्यममा विज्ञापनमा रोक लगाइसकेको छ । चामल, चिनीसँगै चुरोट बेच्ने किराना पसलको नियन्त्रण अप्ठ्यारो कुरा भए पनि नाबालकले बिँडी, चुरोट किन्न नपाइने व्यवस्था छ । त्यसो त साथीभाइलाई उपहारका रूपमा सुर्तीजन्य पदार्थ दिन नपाइने व्यवस्था छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐनले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्ने अधिकारी तोकेको छ । तर यसका विषयमा सबै पक्षबीच आपसी समन्वय नहुँदा सार्वजनिक स्थलमा धूमपान गर्नेहरूलाई समेत कारबाही गर्न सकिएको छैन । धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको रोकथाम र उपचारका लागि स्वास्थ्य कर कोषको व्यवस्थासमेत सरकारले गरेको छ । धूमपानका कारण जाने ज्यान जोगाउने अभियानलाई रोक्न धूमपानलाई व्यवसाय बनाउनेहरू अझै पनि लागिपरेका छन् । कानुन स्वतः व्यवहारमा लागू हुने कुरा हो । त्यसलाई भ्रमको खेती गरेर पंगु बनाउन लागिपरेकाहरू यो कानुन लागू गर्न सकिँदैन ।यो कानुनका कारण सुर्तीजन्य उद्योग बन्द भएर बेरोजगारी बढ्छ । राजस्व घट्छ । विदेशी सुर्ती कम्पनीलाई प्रोत्साहन मिल्छ र पत्रपत्रिकाले विज्ञापन नपाए सञ्चार क्षेत्रमा नकारात्मक प्रभाव पर्छजस्ता तर्क राखेर भ्रम सिर्जना गरिरहेका छन् ।
आम नागरिकको स्वास्थ्यका लागि घातक सुर्तीजन्य पदार्थलाई नियन्त्रण र नियमन गर्न खोज्नु राज्यको दायित्व भएकाले कानुन कार्यान्वयनमा राज्यले विशेष ध्यान दिनुपर्ने धूमपानविरुद्ध सक्रिय प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) का कार्यकारी निर्देशक शान्तलाल मुल्मी बताउँछन् ।
दक्षिण एसियाका सबै देशलगायत संसारका १७१ देशले सुर्ती नियन्त्रण कानुन लागू गरिसकेकाले नेपालले लागू गर्न नसक्ने अवस्था नभएको विज्ञहरू बताउँछन् । मुल्मी भन्छन्, ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि मन्द विष सेवन गर्नुझैं भएकाले सुर्तीजन्य उद्योग निरुत्साहन गर्नु राज्यको कर्तव्य हो । यसमा सबैको सहयोग आवश्यक छ ।’ स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालीको वार्षिक कुल मृत्युमध्ये १७प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारण हुने समस्याबाट हुने गरेको छ । मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार बर्सेनि २५ हजार नेपालीको धूमपानले लाग्ने रोगका कारण मृत्यु हुने गरेको छ । यसरी मृत्यु हुनेमा १५ हजार पुरुष र १० हजार महिला छन् । जनस्वास्थ्य विज्ञहरूका अनुसार क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगका अलावा धूमपान सेवनका कारण तालु खुइलिने, छाला चाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, पेटको अल्सर र नपुंसक हुन सक्ने खतरा हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगको उपचारमा सरकारले प्रत्यक्ष रूपमा वार्षिक ६ अर्बभन्दा बढी रुपैयाँ खर्च गर्ने गरेको छ ।
२९ प्रतिशत नेपालीले सुर्र्तीजन्य पदार्थ सेवन गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले डब्लूएचओको सहयोगमा गरेको सर्वेक्षणले महिलाको तुलनामा चार गुनाभन्दा बढी पुरुष अम्मली रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फेब्रअरीदेखि मे २०१९ सम्म पाँच हजार पाँच सय ९३ वयस्कहरूमा गरिएको नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण(स्टेप्स सर्भे) ले यो तथ्यांक बाहिर ल्याएको हो । १५ देखि ६९ उमेरसमूहका व्यक्ति समावेश गरिएको सर्वेक्षणमा जनसांख्यिक र बानी व्यहोरा सम्बन्धी (सुर्तीजन्य पदार्थ, मदिरा, शारीरिक क्रियाकलाप) विवरण संकलन गरिएको थियो । सर्भेक्षणले नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । दैनिक रूपमा सुर्र्तीजन्य पदार्थ सेवनकर्ता भने २४.१ प्रतिशत छन् । तीमध्ये ४० दशमलव १ प्रतिशतर १०प्रतिशत महिला रहेका छन् । त्यसैगरी नेपालमा धूमपान गर्ने १७.१ प्रतिशत र दैनिक धूमपान गर्ने १३.३ प्रतिशत रहेको पाइएको छ ।
सर्वेक्षणअनुसार चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या सबैभन्दा बढी प्रदेश ५ मा रहेको छ । प्रदेश ५ का ३६ दशमलव ६ प्रतिशतले चुरोट तथा सुर्ती सेवन गर्ने गरेका छन् ।
चुरोटको तुलनामा धुवाँरहित अन्य सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्वेक्षणले देखाएको छ । चुरोट सेवन गर्ने १४ दशमलव ५ प्रतिशत रहेका छन् भने धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या १८ दशमलव ३ प्रतिशत रहेको पाइएको छ ।
सर्वेक्षणअनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ । विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो । तर, अहिले सर्वेक्षणले झन्डै २ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ । सर्वेक्षणअनुसार १ दशमलव ७ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन् । भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर
Next article विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131512
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web