हेल्थ टुडे,
काडमाडौं, साउन ४ : औषधी सम्बन्धी विद्यमान समस्या समाधान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकाश देवकोटाको संयोजकत्वमा आईतबार तीन सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै औषधी उत्पादक संघले बिगत एक हप्तादेखि गरिरहेको आन्दोलनलाई ध्यानमा राखेर वार्ता गरि समस्या समाधान गर्न सुझाव दिन औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष जी नारायणबहादुर क्षेत्री सदस्य रहेको समिति गठन गरेका हुन । समितिको पहिलो बैठक आईतबार नै बसेर औषधी सम्बन्धी अहिलेका समस्याका बिषयमा समान्य छलफल भएको छ ।
समितिका संयोजक डा देवकोटाले भोली विस्तृत छलफल हुने र समस्या समाधानका लागि ठोस पहलकदमी हुने बताए । नेपाल औषधी उत्पादकहरुले विदेशी कम्पनीलाई स्यानीटाइजरका लागि समय थप गरेको भन्दै बिगत एक हप्तादेखि विरोध गर्दै आइरहेको छ । संघले बिजुलीबजार स्थित औषधी व्यवस्था विभागमा धर्ना, घेराउ र प्रदर्शन गर्दै आइरहेका छन ।
औषधी आयातकर्ता संघको विरोध
औषधी सम्बन्धी विद्यमान समस्या समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिमा औषधी आयातकर्ता संघलाई संलग्न नगराइएको भन्दे नेपाल औषधी आयातकर्ता संघले विरोध गरेको छ । संघका महासचिव पवन आचार्यले ६० प्रतिसत भन्दा बढी औषधी विदेशबाट आयात गर्ने औषधी आयातकर्तालाई समितिमा संलग्न नगराएर बनेको समितिले समग्र ओषधीको समस्या समाधान गर्न नसक्ने भन्दै संघले विरोध गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय समितिमा नेपाल औषधी उत्पादक संघका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीलाई सदस्य राखिएको छ ।
Leave a Reply