हेल्थ टुडे,
काठमाडौं, २६ फागुन : मिर्गौला रोग लागे पनि राम्ररी जिउँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइएको छ ।
मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा प्रत्यारोपण खेलकुद, निशुल्क मिर्गौला परिक्षण सिविर र अंगदान सिविर संचालन गरेर सफलताका साथ सम्पन्न गरेको छ । ११ औं नेपाल प्रत्यारोपण खेलकुद अन्तरगत भएको फुटबलमा मिर्गौला प्रत्यारोपितहरुको टोलीले चिकित्सकसहितको टोलीलाई ४ गोलले हराउन सफल भएको छ । चिकित्सकहरुको टोलीले एक गोल पनि गर्न सकेनन् ।
कार्यक्रममा पूर्व मन्त्री एवं सांसद पम्फा भूसाल, ललितपुर महानगरपालिकामा मेयर चिरीवावु महर्जन, पूर्व मुख्य सचिव लिलामणी पौडेल, पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहाल, औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत वरिष्ठ चिकित्सक, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, कलाकार, पत्रकार र समाजसेवी सहभागी थिए । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठको पहलमा बिगत ११ बर्षदेखि नेपालमा प्रत्यारोपण खेलकुदका साथै मिर्गौला सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । यो कार्यक्रम पनि उनकै पहलमा स्वास्थ्य अभियान नेपालको सहयोगमा भएको हो । कार्यक्रममा फुटवल र अन्य खेलकुदमा बिजयी भएका खेलाडीहरुलाई अवार्ड सहित पुरस्कृत गरिएको छ । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा. श्रेष्ठले मिर्गौला फेल हुने नेपालीको संख्या बर्षेनी बढीरहेकोले मिर्गौला फेल हुनबाट बच्न जनचेतना जगाउनु आवश्यक भएकाले आफूले आफ्नो स्थानबाट जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।
Leave a Reply