हेल्थ टुडे,
काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आफुले कुनै पनि कर्मचारीलाई आस्थाका भरमा पक्षपात नगरेको तर कामका आधारमा भने मूल्यांकन गरेर अवसर दिएको बताएका छन् । कर्मचारीमा आफुले अवसर पाए पक्षपात नहुने तर अरुले पाउदामात्र पक्षपात हुने गरेको स्मरण गरे । मन्त्री बस्नेतले भने, ‘ यहाँ आफुले अवसर पाए पक्ष हुन्छ तर अरुले पाए मात्र पात हुने हो । ’ सिमित सिटका कारण सबैलार्इृ एकै पटक अवसर दिन भने नसकिने मन्त्री बस्नेतको बताए ।
मन्त्रालय भित्र केही कर्मचारीतिर इंगित गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयका निर्णय मन्त्रीपरिषद्मा पास हुन नपाउदै समाचारमा आइसक्ने गरेको स्मरण गर्दै आफुले यस बिषयमा थाहा पाएको तर त्यस्ता कर्मचारीलाई सुध्रन मौका मात्र दिएको बताए । आफुले स्वास्थ्य मन्त्रीको पदलाई काम गर्ने अवसरको रुपमा लिएको बताउदै मन्त्री बस्नेतले काजमा बसेका कर्मचारीको काज फिर्ता गरेको, विदेश भ्रमणमा दुर्गमका काम गरेकालाई पनि अवसर दिएको र विभिन्न अस्पतालका कामचोर कर्मचारीलाई कारवाही गरेको दावी गरे । केही सरकारी अस्पतालमा कर्मचारी युनियन र बिचौलियाका रुपमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई समेत कारवाही गर्न त्यहाँका प्रशासक डराउनु बिडम्बना भएको मन्त्री बस्नेतले बताए । वीर अस्पतालको फार्मेसीमा विरामीले किन्न चाहेको २० प्रतिसत औषधि समेत पाउन नगरेको तर कमिसनको चक्करमा विरामीलाई बाहिरका फार्मेसीबाट औषधि किनाउने प्रवृति तत्काल बन्द गर्नु पर्नेमा बस्नेतले जोड दिए ।
उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए ।
उनले भने, ‘ स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ । ’ मन्त्री बस्नेतले सो अवसरमा उत्कृष्ठ काम गर्ने ५ जना स्वास्थ्यकर्मीलाई नगद सहित पुरस्कार प्रदान गरेका थिए । स्वास्थ्य सचिव डा. रोसन पोखरेलले एकिकृत स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रालय तयार रहेको बताए ।
स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत
![स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत](https://healthtodaynepal.com/wp-content/uploads/2024/02/HM-00001-82918_n-940x527.jpg)
Leave a Reply