हेल्थ टुडे
काठमाडौं, साउन १३ : चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३÷८४ मा चिकित्सा शिक्षा क्षेत्रको नियमन, गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्न ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। आयोगका अनुसार स्वीकृत बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजित गरिएको छ भने ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।
बैठकले आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु वर्षमा विभिन्न स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ समेत गरी उपलब्ध आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।
आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्चका लागि तथा ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ। बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री, सदस्य–सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।







Leave a Reply