प्रा.डा. अञ्जनीकुमार झा,
जनकपुरको भानुचोक किशोरीनगरमा २०२१ सालमा जन्मेँ म । मेरो बुवा (स्वर्गीय शिवराम झा) जनकपुरकै जानकी स्कुलमा संस्कृत पढाउनुहुन्थ्यो । त्यसैले मेरो प्रारम्भिक शिक्षा पनि जानकी स्कुलमै भयो । अहिले पनि म सम्झिन्छु, बुवा मेरो हात समातेर मलाई स्कुल लैजानुहुन्थ्यो । घरमा मात्र नभएर स्कुलमा पनि म बुवाको निगरानीमा हुन्थेँ । उहाँले नै मलाई स्कुलमा खाजा खुवाउनुहुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो जंकफुडको चलन थिएन । आमाले घरमै बनाइदिनुभएको खाजा बोकेर म स्कुल जान्थेँ । रोटी, पुरी, कचौरी बनाइदिनुहुन्थ्यो, खाजाका रूपमा । मलाई चाहिँ रसभरी मन मथ्र्यो । बुवाले घुम्न गएका बेला रसभरी किनिदिनुहुन्थ्यो । कक्षा ८ सम्मको शिक्षा मैले जानकी स्कुलबाटै पूरा गरेँ ।
मेरो मनपर्ने विषय गणित थियो । हरेक कक्षामा गणितमा मेरो सबैभन्दा बढी अंक आउँथ्यो । म कक्षामा कहिले पहिलो, कहिले दोस्रो र कहिलेकाहीँ तेस्रो हुन्थेँ । बुबा शिक्षक भएकाले मलाई स्कुलका प्रायः सबैले चिन्थे । शिक्षकहरूमध्ये पनि बुबाको छुट्टै छाप थियो । बुवाजस्तै असल मानिस बन्नुपर्छ भन्ने लाग्थ्यो । म खेलकुदको पनि सोखिन थिएँ । मलाई कपर्दी मन पथ्र्यो । क्रिकेटको चलन त्यति थिएन तर सुरु भइसकेको थियो । कपर्दीको त म स्कुलमा च्याम्पियन नै थिएँ । त्यतिबेला अहिलेको बाँस्केटबलझैं कपर्दी चलनचल्तीमा थियो । खेलकुदमा पहिलो, दोस्रो भएर मैले थुप्रै पटक पुरस्कार पनि हात पारेको छु । म स्कुल पढ्ने बेला मेरो दाजु अरुणकुमार झा भारतको दरभंगामा एमबीबीएस पढ्दै हुनुहुन्थ्यो । पढाइमा राम्रो भएकाले दाजुले ८ कक्षा उत्तीर्ण गरेपछि मलाई पनि उतै पढाउने सल्लाह गर्नुभयो । बुवा पनि कन्भिन्स हुनुभयो । त्यसपछि मेरो पढाइ दरभंगाको सरस्वती स्कुलमा सुरु भयो ।
दाइ होस्टेलमा बस्नुहुन्थ्यो । म पनि दाइसँगै होस्टेलमा बस्थेँ । होस्टेलमा कुनै चिजको कमी थिएन । खाना पनि स्वस्थकर नै हुन्थ्यो । मैले त्यही स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे । बुवाआमाको सल्लाहअनुसार आईएस्सी पढ्न म फेरि जनकपुर फर्के । जनकपुरको रारा बहुमुखी कलेजबाट मैले आईएस्सी पास गरे । म आईएस्सी पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन चर्केको थियो । हामी पनि आन्दोलनमा होमियौं । राजनीतिक वातावरण नै त्यस्तै थियो । दुई वर्षमा हुनुपर्ने परीक्षा चार वर्षमा पूरा भयो । त्यतिबेला आईएस्सीमा चार पाँच जना मात्र उत्तीर्ण भएका थियौं ।
छोरा डाक्टर बनोस् भन्ने आमा (स्वर्गिय चन्द्रावती झा) को सपना नै थियो । बुवाको पनि त्यसमा समर्थन थियो । मेरो अर्को दाजुको उपचार नपाएर अकालमै मृत्यु भएको थियो । त्यसैले आमा बाँचेका हामी दुवै छोरालाई डाक्टर बनाउनुपर्छ भन्नुहुन्थ्यो । हामी दुवै दाजुभाइ पढाइमा राम्रो भएकाले भोलि डाक्टर भएर हाम्रो सपना पूरा गर्छन् भन्ने आमाबुवालाई पनि लागेको थियो । मलाई त त्यतिबेला डाक्टर नै बन्नुपर्छ भन्ने लागेको थिएन । जनकपुरमा शिक्षक भएर बुवाले जुन मानसम्मान र प्रतिष्ठा कमाउनुभएको थियो, त्यसलाई अझ उँचो बनाउन आफूले पनि मेहनत गरेर असल मान्छे बन्नुपर्छ भन्ने मनमा थियो । आईएस्सी पूरा गरेपछि आमा, बुवा र दाजुको सल्लाहअनुसार म एमबीबीएस पढ्न काठमाडौं आएँ । एमबीबीएसमा नाम निकाल्न त्यतिबेला सजिलो थिएन । अहिलेजस्तो थुप्रै मेडिकल कलेज पनि थिएनन् । त्रिवि शिक्षण अस्पताल र विदेशमा मात्र त्यो सुविधा थियो ।
मैले बंगलादेशमा एमबीबीएस पढ्न आवेदन दिएँ । तर, भर्ना पाउने, नपाउने टुंगो थिएन । सौभाग्य केही दिनमै बंगलादेशबाट म छानिएको पत्र आइपुग्यो । पत्र आएपछि खुसी लाग्नु स्वाभाविक थियो । तर, त्यो पत्रमा वार्षिक एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने सर्त थियो । बाफरे ! त्यतिबेला त्यो पैसा धेरै थियो । एकातिर आमाको सपना पूरा गर्न सकिने भयो भन्ने खुसी थियो भने अर्कातिर त्यत्रो पैसा कसरी जुटाउने भन्ने पीर । पैसा जुटाउने विषयमा बुवा पनि चिन्तित हुनुभयो । धेरैले सल्लाह दिए, पैसाको लागि पढाइ रोक्नु हुँदैन । तर, पैसा जुटाउनु बुवाको लागि त्यति सजिलो थिएन । बुवाका लागि हामीहरूको पढाइ सबैभन्दा ठूलो थियो । बुवाले शिक्षण पेसाबाट राजीनामा दिएपछि मात्र एकमुष्ट पैसा आउँथ्यो । मेरो पढाइका लागि बुवाले राजीनामा दिनुभयो र मेरो खर्च जुटाउनुभयो । म एमबीबीएस पढ्न बंगलादेश गएँ । म दाइसँगै बंगलादेश गएँ । पहिलोपटक ठूलो जहाजमा चढ्दा म खुसी भएँ । त्यहाँ मैले सिस्एमएजी सिलेट मेडिकल कलेजबाट एमबीबीएस पास गरेँ । नेपाली विद्यार्थीले बंगलादेशी विद्यार्थीभन्दा बढी शुल्क तिर्न नपर्ने कुरा कलेज भर्ना भएपछि मात्र थाहा भयो । त्यो एक हजार अमेरिकी डलरले त पछि मेरो दुई वर्षको पढाइ पूरा भयो ।
एमबीबीएस सकेपछि म नेपाल फर्किएँ । पहिले त्रिवि शिक्षण अस्पतालमा काम गरेँ । त्यसपछि पाटन हस्पिटलमा काम गर्ने मौका मिल्यो । त्यसबीचमै मैले अस्टे«लियाबाट एक वर्ष क्यान्सरसम्बन्धी तालिम लिएँ । सन् १९९८ मा एमडी पढ्न भारतको मणिपाल मेडिकल कलेजमा भर्ना भएँ । त्यहाँबाट रेडियोथेरापीमा एमडी पूरा गरेँ । मैले १८ वर्षदेखि बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा रेडिएसन अंकोलोजिस्टका रूपमा काम गरे । आमाको सपना पूरा गर्न सकेकोमा खुसी छु । हजारौं क्यान्सरपीडितलाई स्वदेशमै सुलभ रूपमा उपचार सेवा दिन पाएकोमा आफ्नो पेसाप्रति सन्तुष्ट छु । तर, मलाई डाक्टर बनाउन आवश्यक एकमुष्ट रकमका लागि आफ्नो जागिरबाट राजीनामा दिनुहुने मेरा श्रद्धेय बुवा र म डाक्टर भएपछि खुशी हुनुहुने आमा हामीमाझ अहिले हुनुहुन्न । पढाइको कुरा सम्झियो कि बुवासँग बिताएका दिन याद आइहाल्छन्, आँसु आउँछ आँखाभरि । कसैले छोरालाई डो¥याएर स्कुल लगिरहेको देखे बुवालाई सम्झन्छु । बुवाले देखाएको बाटोमा हिँड्ने प्रयास गर्छु । चिकित्सा पेसामा पनि इमानदारीसाथ काम गरेकै मूल्यांकन गरेर होला, साथीहरूले नेपाल चिकित्सक संघको अध्यक्षजस्तो गरिमामय पदमा अत्यधिक मतले विजयी गराएका थिए । संघको अध्यक्ष भएर चिकित्सा पेसाको सुधारका लागि सक्दो योगदान गर्न सकें । चिकित्सक संघलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्न सके । यो मेरो सौभाग्य हो । अहिले म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष छु ।
स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने नयाँनयाँ अध्ययन र अनुसन्धानलाई परिषद्ले अगाडि बढाइरहेको छ । सिकलसेल एनिमिया, क्यान्सर, मानसिक रोग र अन्य नसर्ने रोगहरूको क्षेत्रमा विभिन्न अनुसन्धान गरिरहेका छौं । इमानदारिता र मेहनतले नै मानिसलाई उचाइमा पु¥याउँछ भन्ने लाग्छ ।
Leave a Reply