हेल्थ टुडे
काठमाडौं, २० साउन : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्ष हुन्छ ।
डा. उप्रेतिले ३ बर्ष पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवबाट अवकास पाएका थिए । हेल्थ पोष्टको हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवा प्रवेश गरेका डा. उप्रेती पछि चिकित्सक हुदै जिल्ला, अञ्चल, क्षेत्रिय निर्देशनालय, महासाखा हुदै स्वास्थ्य सेवा विभागको महानिर्देशक समेतको अनुभव छ । ३६ वर्ष भन्दा बढी समय नेपालको स्वास्थ्य सेवामा बिताएका डा. उप्रेतीको अनुभव र कार्यकुशलताले नेपालको स्वास्थ्य बिमाले गति लिने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् ।
यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो । बोर्डको कार्यकारी निर्देशक रमेश पोखेरेलले दिएको राजिनामा पनि सरकारले स्विकृत गरिसकेको छ । अहिले सो पदमा केही समय काम चलाउनका लागि राधिका थपलियालाई जिम्मा दिएको छ । बिमा बोर्ड स्वायत्त हुने ऐनमा व्यवस्था गरिएको भए पनि कर्मचारीको पदपूर्ति देखिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनावश्यक हस्तक्षेप भएकाले काम गर्न वातावरण नभएको भन्दै अध्यक्ष र कार्यकारी निर्देशक दुबैले दुई वर्षे कार्यकाल छदै गत महिना राजिनामा दिएका थिए ।
Leave a Reply