स्वास्थ्य मन्त्रालयले नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’ भन्ने नाराका साथ एक वर्षे स्वास्थ्य अभियान सुरु गर्ने भएको छ । अभियानको सुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राजधानीको दशरथ रंगशाला र बसन्तपुर दरबार स्क्वायरमा आयोजना हुने कार्यक्रममा गर्ने छन ।
हरेक व्यक्तिले आफु स्वस्थ्य रहन आफैले पहल नगरेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने भएकाले सबै नागरिकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘व्यक्ति र परिवार स्वस्थ रहन सके देश स्वस्थ हुन सक्ने सोचका साथ अभियान सुरु गर्न लागिएको हो ।’
स्वस्थ जीवनशैलीका लागि हरेक नागरिकलाई पाँच प्रतिवद्धता गर्न सरकारले आह्वान गरेको छ । अभियानले चुरोट र सूर्तीजन्य पदार्थ सेवन नगर्न, मदिरा सेवन नगर्न, नियमित व्यायाम, स्वास्थ र पोषिलो खाना र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा विशेष जोड दिएको छ । अभियान अन्तर्गत सरोकारवाला निकायसंगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने लगायत सात वटा कार्यक्रम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नसर्ने रोग राष्ट्रिय केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ ।
Leave a Reply