औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधि आयातकर्ताहरुले मंगलबार मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा विभागको परिसरमा बिहान १० बजेदेखि १२ बजेसम्म देशभरिका आयातकर्ता व्यवसायीले धर्ना दिएका हुन् । आन्दोलनमा औषधि प्रवद्र्घक संघ र फ्यानकनको पनि समर्थन छ ।
सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले निर्णय फिर्ताको माग गर्दै धर्ना बसेका हुन् । उनीहरुले २८ गते औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई भेटेर विरोध जनाउँदै माग सहितको ज्ञापनपत्र दिएका थिए ।
स्वास्थ्य मन्त्री गगन थापाले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाएर जनतालाई महंगोमा औषधि किन्न बाध्य बनाउन लागेकोले आरोप उनीहरुले लगाएका छन् । नेपाल औषधी आयातकर्तासंघका महासचिव पवन आचार्यले स्वास्थ्यमन्त्री थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । केही दिन पहिले मन्त्री थापाले औषधि व्यवसायीले ४ सय देखि २२ सय प्रतिसतसम्म औषधिमा नाफा खाने गरेको पाइएको आफ्नो वेभ पेजमा पोस्ट गरेपछि औषधि आयातकर्ताले त्यसमा सत्यता नभएको भन्दै प्रमाणित गरेर देखाउन मन्त्री थापालाई चेतावनी दिएका छन । आचार्यले भने,‘आफ्नो सस्तो लोकप्रियताका लागि मन्त्रीले औषधि आयातकर्तालाई बदनाम गराउन पाइदैन ।’ औषधिको मोल घटाउ भन्दा नमान्ने स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले स्तरीय औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेरकाले निर्णय तत्काल फिर्ता नभए सबै औषधिको आयात ठप्प पार्ने संघका अध्यक्ष अन्जन पडासैनीले बताए ।
आफ्ना माग सम्बोधन गर्न छाडेर औषधिव्यवस्था विभागका महानिर्देशक विदेश सयरमा रहेको उनको भनाई छ । सरकारले भने सिधै विदेशी कम्पनीसँंग सिधै औषधि खरिद गरेर अस्पतालका फार्मेसी मार्फत सस्तोमा विक्रीबितरण गर्ने योजना अगाडि सारेको छ । तर औषधि आयातकर्ताहरुले भने खेती गर्ने मौषममा मलखाद उपलब्ध गराउन नसक्ने सरकारले चाहिएको बेलामा जनतालाई अत्यावश्यक औषधि उपलब्ध गराउन नसक्ने दाबी गरेका छन । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।
Leave a Reply