• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

September 20th, 2025 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पिसाब चुहिने समस्या र त्यसको निदान

डा.अर्जुनदेव भट्ट,
पिसाब चुहिने समस्या महिलामा मात्र होइन, पुरुषमा पनि विद्यमान हुन्छ । तर महिलाको दाँजोमा त्यो निकै कम देखापर्छ । विश्व तथ्यांकअनुसार प्रौढ महिलामा पिसाब चुहिने समस्या ४० प्रतिशतसम्म देखापर्छ । नेपालमा यो समस्याको खासै अध्ययन भएको छैन । खुलेर या समस्या भन्न नरुचाउने महिलाको बहुमत भएकोले वास्तविक आँकडा पाउन पनि सजिलो छैन । महिलामा पिसाब धेरै अवस्थामा चुहिने गर्छ । त्यसमध्ये सामान्य मूत्र संक्रमणदेखि लामो समयसम्म जन्मिन नसकेको बच्चाको टाउकोले मूत्र प्रणालीको तल्लो भागमा थिचेर रक्त सञ्चारमा हानि पु¥याई पारेको प्वालबाट पिसाब चुहिराख्ने अवस्था सिर्जना गर्न सक्छ । यस्तो प्रकारले बनेको घाउलाई मूत्राशय योनी फिस्टुला भनिन्छ । तर यो लेखमा विभिन्न कारणवश महिलाको पेटभित्र चाप बढ्दा एक्कासि पिसाब चुहिने अवस्थाको शल्य उपचारबारे वर्णन गरिनेछ । खोक्दा, हाछ्युँ गर्दा, गरुंगो भारी उठाउँदा, यौनसम्बन्ध राख्दा वा त्यस्तै अरू कारणले पेटभित्र एक्कासि चाप बढेको स्थितिमा त्यो चाप मूत्रथैलीभित्र प्रेषित हुन्छ । यस्तो अवस्थामा मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग एक्कासि खुलेको खण्डमा पिसाब रोक्न सकिँदैन । विभिन्न कारणवश पिसाब चुहिने समस्या भएका महिलामध्ये चाप सम्बद्धको संख्या ५० प्रतिशत हुन्छ । महिलामा पिसाब नलीको बीचको भागलाई झोलुंगे आकारको संरचनाले आधार दिएको हुन्छ । यो संरचनाको बनावटमा मलद्वार उठाउने मांसपेशी तथा विभिन्न मांसपेशीबाट निस्केको पट्टीले बनेको हुन्छ । तर विभिन्न कारणवश जस्तै– प्रसव क्रिया, नसाको कमजोरी, उमेर, आदिको फरकले झोलुंगे आधारलाई कमजोर बनाउँछ । फलस्वरूप त्यसले दिएको टेवाले मूत्रथैलीभित्र बढेको चापलाई धान्न सक्दैन, मूत्रनली खुल्छ र पलभरमै पिसाब चुहिन्छ । पेटभित्र एक्कासि चाप बढ्दा पिसाब संयम (नचुही) रहन कम्तीमा तीन प्रक्रिया तथा प्रणाली समर्थित हुन्छन् ।

सर्वप्रथम पेटभित्र एक्कासि बढेको चाप मूत्रनलीको सुरुको भागमा प्रेषित हुनासाथै मूत्रनलीको मुन्द्रा आकारको मांसपेशी निर्मित बाहिरी ढोका सुरक्षा दिने प्रतिक्रियाको सहयोगले तुरुन्तै खुम्चन्छ । फलस्वरूप अस्थायी रूपमै भए पनि पिसाब चुहिनबाट रोक्छ । पेटभित्रको चाप मूत्रनलीको सुरुतिर सञ्चार हुँदैमा त्यसलाई सम्पूर्ण मूत्रनलीभित्र बढेको चापको कारण मान्न सकिन्न । किनकि मूत्रनलीभित्रको चाप खोकीको चाप प्रेषण हुनुअगावै बढिसक्छ । त्यसले के देखाउँछ भने महिलामा पिसाब नचुहिने भनेको सक्रिय स्नायु प्रणाली मेक्यानिजम यन्त्र क्रिया हो । पेटबाट प्रेषण भएको चापले मूत्रनलीको लचिलो अग्रभागलाई पछाडिको दह्रो भागतिर धकेलेर थिचिदिन्छ । तर मूत्रनलीको पछाडिको भागलाई दह्रो रहन प्रशस्त मात्रामा कटीको मांसपेशी र संयोजक तन्तुको आधार हुनुपर्छ । त्यसैले महिलामा पिसाब नचुहिनु भनेको मांसपेशीको सक्रिय स्थिति, कडापन र निष्क्रिय शारीरिक समायोजन कार्यको परिणाम हो ।
पिसाब चुहिने महिलामा मूत्रनली तथा त्यसलाई आधार दिने वरिपरिका मांसपेशीको सक्रियतामा कमी देखा पर्छ । त्यसको अलावा ती मांसपेशी लुलो हुँदै जान्छन् । थप मूत्रनलीभित्रका झिल्ली जसले आपसमा टाँसिएर पिसाब नचुहिनका निम्ति ३० प्रतिशत शक्ति प्रदान गर्छन्, त्यस्तो जोल्ठिने गुणको पनि अभाव हुँदै जान्छ । महिलामा चापसम्बद्ध पिसाब चुहिने अवस्थाको मुख्य कारण कटीको समतल भागको मांसपेशी, स्नायुहरू, संयोजक तन्तुजस्ता महत्वपूर्ण अंगमध्ये एक वा प्रायजसो सबैको क्षति हुनु हो । महिलामा चाप सम्बद्धको अलावा एउटा अर्को यस्तो पिसाब चुहिने स्थिति हुन्छ, जसमा पिसाब नलागुन्जेलसम्म एक्कासि पेटभित्र चाप बढ्दैमा पिसाब चुहिन्न । तर जब महिला पिसाब फेर्ने अनुभव गर्छिन्, तब उठेर जाँदाजाँदै बीचैमा पिसाब चुहिने गर्छ । यस्तो अवस्थामा जति बल गर्दा पनि पिसाब रोक्नै सकिन्न । यो अविलम्ब मूत्र चुहिने कारण एक्कासि मूत्रथैलीको मांसपेशी खुम्चिनु र थैलीको घाँटी र मूत्रनली खुल्नु हो । यस्तो पिसाब चुहिने समस्या महिलामाझ १६ प्रतिशत देखा पर्छ । माथि उल्लेखित दुवै थरीका पिसाब चुहिने समस्याको मिश्रण आफंैमा अर्को प्रकारको समस्या हो, जो महिलामाझ ३४ प्रतिशत देखा पर्छ । यस्तो पिसाब चुहिने समस्यामा योनीको खुकुलोपन र योनी वरिपरिको संरचनामा विकसित भएको शिथिलताबाट उत्पन्न हुने गर्छ ।
रोग पहिचान
पिसाब चुहिने समस्याको निर्णायक सूचना महिलाबाटै पाइन्छ । कहिलेदेखि ? के चुहिने पछिल्लो समय बढ्दै गएको छ ? चाप सम्बद्ध मूत्र चुवाहट कुन अवस्थामा देखापर्छ ? महिलालाई यो समस्यासँग जुध्न कति गाह्रो छ ? मूत्रथैली तथा जनेन्द्रिय अंग आफ्नो ठाउँबाट कति तल झर्छन् ? के दिसा त्याग्नुमा समस्या छ ? पारिवारिक तथा सामाजिक कार्यमा सहभागी हुन कति बाधा छ ? इत्यादि । यस्ता विभिन्न प्रश्नको उत्तर बिरामीबाट बेलिबिस्तारसहित संकलन गर्नुपर्छ । शारीरिक जाँच गरेर चिकित्सकले मूत्रथैली तथा जनेन्द्रियका अंग योनीको ढोकाबाट कति टाढा भित्र वा बाहिर छन्, त्यसको यकिन लिखित राख्नुपर्छ । झरेको अंगको परिमाण यकिन गर्न शल्य उपचारको निम्ति अनिवार्य हुन्छ । शल्य उपचारको उद्देश्य चापसम्बद्ध पिसाब चुहिने महिलामा झरेका अंग आफ्नो ठाउँमा राख्नु महत्त्वपूर्ण हुन्छ ।
पुरातन उपचारको कमजोरी
यो उपचार विधिको मुख्य लक्ष्य बिरामीको आचरणमा परिवर्तन गरी पिसाब चुहिने समस्यामा कति कमी ल्याउन सकिन्छ, त्यसको पहिचान गर्नु हो । त्यसको निम्ति खानपान तथा तरल पदार्थको मात्रा नियन्त्रण गर्ने, तौल उचाइको अनुपातमा मेल खानेगरी राख्ने, कब्जियतसँग जुध्न रेसायुक्त खाना तथा फलफूल र हरियो सागसब्जी खाने, मलद्वार तथा योनीको मांसपेशीलाई शारीरिक कसरत गरेर कसिलो राख्न प्रयत्न गर्ने, मधुमेह, उच्च रक्तचाप तथा ढाड–कम्मर दुख्ने समस्या हुनेले शारीरिक कसरतसँगै विशेषज्ञको सल्लाहमा उपचार गर्ने, आचरण परिवर्तनको साथै औषधि प्रयोग गरेर पिसाब चुहिने समस्यालाई न्यूनीकरण गर्ने र छालामा प्वाल पारेर स्नायु तथा मांसपेशीलाई विद्युतीय शक्तिले उत्तेजित पारेर वा मूत्रनलीमा यन्त्र राखेर पिसाब चुहिनुबाट केही राहतको प्रयत्न गर्नुपर्छ । पुरातनवादी उपचारमा प्रयोग हुने जुक्ति तथा उपकरण सबै बिरामी–मैत्री हुन्नन् । उपलब्ध फाइदामा सन्तुष्ट हुने महिलाहरूको संख्या उच्च नभएकाले तुरुन्त देखिने फाइदा लिन शल्य उपचार अँगालिने गरिन्छ ।
शल्य उपचार विधि
शल्य उपचारबाट महिलाको पिसाब चुहिने समस्याको समाधान खोज्ने प्रयत्न सन् १९०७ देखि नै हो । मूत्रनली र थैलीको घाँटी तल सरेर पिसाब चुहिने समस्या हुन्छ भन्ने त्यसबेलाको विश्वास अनुसार शल्यउपचार मूत्रथैलीको घाँटीलाई स्थिर ठाउँमा पु¥याएर सिलाउने कार्य गरियो । यस्तो शल्यक्रियाले निकै फाइदा महसुस गरायो । तर आशा गरे जति दीर्घकालीन लाभ हुन सकेन । त्यसैले शल्य उपचारको सुधार गर्दै लगियो । पछिल्लो समयको विश्वासअनुसार मूत्रनलीको बीचको भागलाई मांसपेशी र तन्तुको पट्टाले बनेको झोलुंगे आकारको संरचनाले अड्क्याएर राखेको हुन्छ । यो शारीरिक बनोटको विशेषतालाई ध्यानमा राखेर आजभोलि ‘टी.ओ.टी’ शल्य उपचार चापसम्बद्ध पिसाब चुहिने महिलामा उपयोग गरिन्छ । यो विधि अहिलेसम्मकै उत्तम विधि मानिन्छ ।
यस्तो शल्यक्रियापछि महिलाहरू दोस्रो वा तेस्रो दिन अस्पतालबाट बिदा हुन्छन् । दैनिक कार्यमा दुईदेखि तीन दिनपछि नै संलग्न हुन सक्छन् ।
(डा. भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार
Next article वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134434
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web