हेल्थ टुडे, १ माघ काठमाडौं —प्राकृतिक र औषधिविहीन उपचार पद्धतिमा आधारित सुस्वास्थ्य अस्पतालले आफ्नो सेवा सञ्चालनको एक दशक पूरा गरेको छ।
स्थापनाको प्रारम्भिक चरणमै महाभूकम्प, त्यसपछिको नाकाबन्दी र पछि कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिलाई सामना गर्दै अघि बढेको यस अस्पतालले १० वर्षको अवधिमा १८ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ। अस्पतालको तथ्यांकअनुसार यस अवधिमा १० हजार ९७७ जना सशुल्क तथा ७ हजार २१० जना निःशुल्क गरी कुल १८ हजार १८७ बिरामीको उपचार सफलतापूर्वक गरिएको हो।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अस्पतालले दुर्गम र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी पनि दिएको छ।
दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जारी गरेको विज्ञप्तिमा बिरामीको भरोसा, स्वास्थ्यकर्मीहरूको निष्ठा तथा सहयोगी संस्थाहरूको साथ नै संस्थाको मुख्य आधार भएको उल्लेख गरेका छन्।
सुस्वास्थ्य अस्पताल विसं २०५६ सालमा स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित स्वरूपका रूपमा विकास भएको हो। प्रारम्भिक चरणमा आधारभूत पूर्वाधार तयार गर्दै हाडजोर्नी, नसा, कम्मर तथा गर्दन दुखाइ, घुँडाको समस्या, प्यारालाइसिस र माइग्रेनजस्ता रोगको उपचारबाट सेवा सुरु गरिएको थियो।
एक दशकको यात्रामा अस्पतालले आफ्नो सेवाको गुणस्तर र प्रभावकारितालाई प्रमाणित गर्दै आएको जनाइएको छ। पछिल्ला वर्षहरूमा ताइवानका विश्वविद्यालयहरूसँग सहकार्य, विदेशी इन्टर्नसिप कार्यक्रम, तालिम तथा आधुनिक विशेषज्ञ सेवाको विस्तारले संस्थालाई थप सुदृढ बनाएको अध्यक्ष बस्नेतले बताएका छन्।
हाल ३४ जना दक्ष जनशक्तिको टोलीद्वारा सञ्चालित सुस्वास्थ्य अस्पताल प्राकृतिक उपचारप्रतिको विश्वास, मानवीय संवेदना र निरन्तर सेवाको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।







Leave a Reply