हेल्थ टुडे,
काठमाडौं, १ साउन : उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी मनिता शर्माको उपचारमा लापरबाही गरेको ठहर गर्दै एभरेस्ट अस्पताल र उपचारमा संलग्न डा. ज्योत्सना शर्मा तिवारीलाई दोषी ठहर गरेको छ । अदालतले अस्पताललाई ३० लाख र डा. ज्योत्सना शर्मा तिवारीलाई ९ लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति पीडित परिवारलाई भराउन आदेश दिएको छ ।
सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य दिनुपर्ने म्याग्नेसियम सल्फेट नदिई उपचारमा लापरबाही गरिएको अदालतको फैसलामा उल्लेख गरिएको छ । प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ ।
उपभोक्ता अदालतले बिहीबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरबाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।
प्रवक्ता कँडेलका अनुसार अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्य आधार बनाएको छ । विशेषगरी प्रि–एक्लेम्प्सियाको समस्या भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनअघि नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा अदालतले ग्रहण गरेको उनले बताए ।
उनका अनुसार अदालतले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको तथा प्रि–एक्लेम्प्सियाका बिरामीलाई शल्यक्रियाअघि दिनुपर्ने औषधि नदिएको लगायतका विषयमा अस्पताल र चिकित्सक दुवैको लापरबाही पुष्टि भएको ठहर गरेको छ । कँडेलले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत तथा प्रशासनिक दायित्वसमेत रहेको निष्कर्ष निकाल्दै दुवैलाई उत्तरदायी ठहर गरिएको बताए ।







Leave a Reply