हेल्थ टुडे,
काठमाडौं, १८ साउन : नेपालमा गैरनेपालीले पनि मिर्गौला प्रत्यारोपण गर्न पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतले गैरनेपाली नागरिक भए पनि नेपालमा शरणार्थीका रूपमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश दिएको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो परमादेश दिएको हो । अदालतले मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी विद्यमान कानुनमा शरणार्थीबारे स्पष्ट व्यवस्था नभएको आधारमा जीवनरक्षक उपचारबाट वञ्चित गर्न नमिल्ने निष्कर्ष निकाल्दै अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्रालि (मेडिसिटी अस्पताल) को निर्णय बदर गरेको हो । अस्पतालले पनि प्रत्यारोपण गर्न सिफारिस गरेपछि कानुनी व्यवस्थाको अभाव देखाउँदै प्रक्रिया अघि बढाएको थिएन । खर्कबहादुर गजमेरले श्रीमतीसँग (सारा गजमेर) को नाता प्रमाणित गरी मिर्गौला प्रत्यारोपणका लागि मेडिसिटी अस्पतालमा निवेदन दिएका थिए ।
तर अस्पतालको मिर्गौैला प्रत्यारोपण स्वीकृत समितिले ८ असार २०८३ बैठक बस्दै भुटानी शरणाथीसम्बन्धी प्रमाणित परिचयपत्र पेस गर्न नसकेको र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २(छ) मा शरणार्थीका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै अस्पतालले प्रत्यारोपण निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गरी निवेदन बमोजिम मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउन आदेश दिएको छ ।







Leave a Reply